नेपाली म्याराथनमा उदाएकी सल्यानी रानी  (भिडियो)

दीप सुवेदी

काठमाडाै‌ं

उचाई ४ फिट ६ इन्ची। उमेर १५ वर्ष। यो दृश्य हो, करिब दश वर्षअघि धनगढीमा आयोजना भएको छैटौं बृहत राष्ट्रिय खेलकुदको।

होचो कद र दुब्लो शरीर, त्यसमा पनि अपरिपक्व उमेर। सल्यानी यी किशोरीमाथि त्यतिबेलै धेरैको नजर गढिसकेको थियो। ट्रयाकमा उनको दुधौले अनुहार देखेर दर्शकदीर्घामा बसेका मानिसहरु कानेखुशी गरिरहेका थिए,‘यी फुच्चीले दौड त पुरा गर्लिन्?’

हुन त उनले यस भन्दाअघि न कहिले व्यवस्थित ट्रयाक देखेकी थिइन, न त म्याराथनका लागि कति किलोमिटर दौडिनुपर्छ भन्ने हेक्का नै थियो।

त्यही पनि सकिनसकि दौडिइन् । रोचक कुरा म्याराथनमा उनले दोस्रो स्थान तथा पाँच किलोमिटरमा तेस्रो स्थान ओगटिन्। राष्ट्रिय प्रतियोगितामा उनको यो नै पहिलो पदक थियो।

यो कथा हो, नेपालकी उदयमान महिला म्याराथन धाविका पुष्पा भण्डारीको। जसले हालै बंगलादेशमा आयोजना भएको शेख मजिबुर ढाका म्याराथन प्रतियोगितामा देशलाई स्वर्ण दिलाइन्। उनले नेपालमै आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुदमा पनि रजत जितेकी थिइन।

पुष्पा जतिबेला शारदा नगरपालिका–१४ माल्नेटामा कक्षा १० मा पढ्दै थिइन, एक दिन स्कुलका सरले सोधेछन्–‘तिमी पनि म्याराथनमा भाग लिने हो?’

केही छिन त उनी अलमलमा परिन्। उनलाई यसअघि म्याराथन भनेको के हो थाहा पनि थिएन।

‘वास्तवमा भन्नुपर्दा मलाई १० कक्षासम्म म्याराथन भनेको थाहा थिएन। म्याराथनमा कति किलोमिटर दौडिनुपर्छ भन्ने पनि थाहा थिएन। गुरुले म्याराथन दौडिने हो भनेर सोध्नु हुँदा कति नै दौडिनुपर्ला भनेर हुन्छ भन्दिएँ,’ उनले विगत सुनाइन्।

घर नजिकैको जंगलमा गाई–बाख्रा चराउन जाँदा उनी गाउँको उकाली र ओरालीसँग पौठेजोरी खेल्थिन्। गाउँमा न दौडिने ट्रयाक थियो, न फराकिलो बाटो नै। त्यही पनि एक श्वासमा दौड्नु उनको नियति नै बनिसकेको थियो। यसले नजानिदो किसिमले म्याराथनलाई आवश्यक पर्ने ‘इन्डुरेन्स’ बढाएको थियो।

‘अहिले त घर अगाडी कच्ची बाटो बनेको छ। त्यतिबेला त दौडिदा लडेरै मरिएला जस्तो भिर थियो। जंगलतिर गाई–बाख्रा चराउन जाँदा समथर ठाउँ देख्यो कि दौडिहाल्थे,’उनले विगत सम्झिइन्।

प्रत्येक शुक्रबार स्कुलमा खेलकुद प्रतियोगिताको आयोजना हुन्थ्यो। उनी ६ कक्षामा पढ्दै गर्दा १० कक्षाका दिदीहरूलाई दौडमा उछिन्थिन्। सायद यही कारणले होला सानैदेखि उनी सरहरुको नजरमा परेको।

करिअरको छोटो अवधिमा ठूलो फड्को मार्ने भाग्यमानी तथा लगनशील खेलाडीको सूचीमा पर्छिन पुष्पा। गाउँबाट जिल्ला, जिल्लाबाट क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगितामा छनोट हुँदा उनको प्रतिभा देखेर स्थानीय गुरुहरुलाई खासै अचम्म लागेको थिएन। तर, उनलाई ‘लाइमलाईट’ मा ल्याउने काम भने एथलेटिक्स प्रशिक्षक स्वर्गीय रविनकुमार राईले गरे।

राई एक पल्ट राम्रो खेलाडीको खोजीमा गाउँ प्रवेश गरेका थिए। उनी त्यही पुष्पाको प्रतिभासँग साक्षात्कार भए। पुष्पालाई भने यस कुराको रत्तिभर भेउ थिएन। उनले ४२ किलोमिटरको दुरी ३ घण्टा २५ मिनेटमा पुरा गरेकी थिइन।

हुनत उनले ५ किलोमिटर, १५ सय मिटर जस्ता मध्यदुरीको दौडमा पनि भाग लिने गरेकी छिन। तर, खुट्टाको लम्बाई कम भएको हुनाले उनी मध्य दुरीभन्दा लामो दुरीमै आफू फिट भएको सुनाउँछिन्।

‘अहिले पनि छोटो दुरीमा मलाई सानो बच्चीले सजिलै टप्छन्,’ म्याराथनमा आफू जम्नुको रहस्य खोल्दै उनले भनिन्। सरल स्वभावकी पुष्पाको स्टामिना भने बेजोड छ। तर यति हुँदा पनि उनले सुरुका दिन विभागीय टोलीको नजरमा पर्न धेरै मिहिनेत गर्नुपर्यो। होचो कद। त्यसमा पनि एउटै लयमा दौडिने उनको कलाका कारण कुनै क्लबले भाउ दिएनन्। यतिबेला भने उनलाई निरास बनाएको थियो।

निम्न आर्थिक अवस्ठा भएकी पुष्पा जस्ता खेलाडीलाई खर्चिलो बन्दै गएको एथलेटिक्समा जम्नु भनेको आर्थिक हिसाबले निकै गाह्रो कुरा हो। जतिबेला उनी एथलेटिक्समा आफ्नो करिअर बनाउँछु भनेर होम्मिइन्, त्यतिबेला उनीसँग दौडिने न राम्रो जुत्ता थियो, न शरीर फिट राख्न आवश्यक पर्ने डाइट खान पैसा नै। तर पनि उनले हिम्मत हारिनन्।

‘दौड्दा लगाउने जुत्ताको स्तरले टाइमिङमा धेरै असर पर्दोरहेछ। मैले यो कुरा बुझे पनि जुत्ता किन्ने हैसियत थिएन,’ उनले विगत कोट्याइन्। 

पुष्पाको परिवारमा ३ दाजु र २ दिदी छन्। उनी घरकी कान्छी छोरी हुन्। उनका दाजु कराते खेल्थे। त्यसैले सुरुमा उनी करातेतर्फ पनि आकर्षित भएकी थिइन। तर घरमा केटी मान्छेले कराते खेल्न हुन्न भनेर रोकेपछि उनको कराते खेल्ने सपना पुरा भएन।

एथलेटिक्समा क्षेत्रबाट राष्ट्रिय प्रतियोगिताका लागि उनको नाम सिफारिस हुँदा पनि परिवारले सुरुमा धनगढीमा खेल्न जान दिएको थिएन। तर उनले निकै कर गरिन। यसपछि परिवार बाध्य भएको हो। धनगढीमा भएको बृहत राष्ट्रिय खेलकुदमा दोस्रो भएपछि उनी दुई वर्ष त गुमनाम नै भइन। कसैले उनलाई सम्झिएन। यसबीच उनले प्लस टुको अध्ययन सम्पन्न गर्नसमेत भ्याइन्।

उनको जिन्दगीमा सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट २०६९ सालमा आयो। दुई वर्षसम्म कसैले खोज खबर नगरेको पुष्पालाई भेट्न उनै प्रशिक्षक राई सल्यान पुगे। उनी पुनस् पुष्पालाई म्याराथनमा ‘कमब्याक’ गराउन चाहन्थे। त्यसैले उनले लुम्बिनी च्याम्पियनसिपमा पुष्पालाई भाग लिन लगाए। 
वास्तवमा यो प्रतियोगिता नै उनको करिअरको टर्निङ प्वाइन्ट सावित भयो।

दुई वर्ष राम्रो अभ्यास गर्न नपाएकी पुष्पाले छोटो तयारीमैलुम्बिनी च्याम्पियनसिपको उपाधि जितेर सबैलाई चकित तुल्याइन्। यसपछि उनले फर्किएर हेर्नुपरेको छैन। उनलाई पनि यो प्रतियोगिताको सफलताले एथलेटिक्सलाई करिअर बनाउने आत्मविश्वास पैदा भयो। उनलाई तत्कालै सशस्त्र प्रहरीले पनि आफ्नो क्लबमा आबद्ध गरायो।‘मलाई खेलाडी बन्न सक्छु भन्ने आत्मविश्वास नै लुम्बिनी च्याम्पियनसिपले दिलाएको हो। एथलेटिक्स परिवारभित्र सबैले चिन्न थाल्नुभयो र विभागीय जागिर पनि पाएँ । यसपछि ढुक्क भएर आफ्नो व्यवसायिक जीवनयापन गरिरहेको छु,’ पुष्पा भन्छिन्।

उनको सफलता देखेपछि परिवारले पनि गर्व गर्न थाल्यो। यसपछि उनलाई खेलाडी बन्नबाट रोक्ने को? सफलताको सिडी नचढ्दा गाउँमा पुष्पाको कुरा नकाट्ने को नै बाँकी थिए र१ तर अहिले सबै सेलाएका छन्। अहिले त छिमेकीहरु आफ्नो छोरा–छोरीलाई उनी जस्तै बनेर देखाउन गल्फत्ति गर्छन्। उनी सल्यानको मात्र होइन, देशकै छोरी भएर उदाएकी छिन्।

‘पहिले त हुर्किदै गएकी छोरी कहाँकहाँ पुग्छे भनेर छिमेकीहरु घरमा रडाको लगाउन आउँथे। बिहे गराइदिनुपर्छ भन्थे,’पुष्पाले सुनाइन्,’तर बुवाआमाले छोरीले जितिरहेकी छे। केही गर्छे। उसले छोरा जतिनै गर्न सक्छे भन्नुहुन्थ्यो।’

एपीएफ क्लबमा अनुबन्ध भएपछि एथलेटिक्स र म्याराथनप्रतिको उनको बुझाइ झन् गहन भएको थियो। दौडन उनले ट्रयाकसुट र स्पाइक पनि राम्रो पाउन थालिन्। अहिले पुष्पाको म्याराथनको औसत टाइमिङ २ घण्टा ५० मिनेट हो। यहाँ उनी धनीराम चौधरी गुरुबाट नियमित प्रशिक्षण लिइरहेकी छिन्।

सुरुमा उनी एपीएफमा आबद्ध हुँदा कान्छिमाया कोजु र नेपाल पुलिस क्लबकी विश्वरुपा खड्काको दबदबा थियो। उनलाई लामो समय यी दुई अग्रजले छोपेर राखे। लुम्बिनी च्याम्पियनसिपमा कान्छिमाया सहभागी नहुनु पनि पुष्पाका लागि करिअरको टर्निङ प्वाइन्ट बन्न पुगेको थियो।

एक पल्ट एपीएफका सबै खेलाडी करारमुक्त हुँदा उनलाई पुनः आफ्नो करिअर अगाडी बढाउन धौधौ परेको थियो। यतिबेला उनीसँग मोजा किन्ने पैसा समेत थिएन। तर नेपाल आर्मीमा आबद्ध दाईका कारण उनले प्रतिकूल अवस्थामा पनि काठमाडौंमा खुट्टा टेकिन्।

पुष्पा सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो, १२ औं साग, जुन २०७३ सालमा भारतको गुवाहाटी र सिलोङमा आयोजना भएको थियो। उनी त्यतिबेला साइनासको समस्याबाट पिडित थिइन। त्यसैले दौड पुरा गर्न सकिनन्। उनका लागि पहिलो अन्तर्राष्ट्रिय खेल सम्झना योग्य भएन। उनले ३५ किलोमिटरमै दौड हाप्नुपरेको थियो। उनी बीचमै बेहोस भएकी थिइन।

२०७३ मा पूर्वाञ्चलमा आयोजना भएको सातौं बृहत राष्ट्रिय खेलकुदमा भने उनले स्वर्ण जितिन्। १२ औं सागमा देशलाई निरास पारेकी पुष्पाले काठमाडौंमा आयोजना भएको १३ औं सागमा रजत जित्दै आफ्नो गुमेको प्रतिष्ठालाई पुनः फर्काउन सफल भइन्। अझ हालै बंगलादेशमा म्याराथनमा स्वर्ण जितेपछि उनी सबैको हाईहाई भएकी छिन्।

‘मेरो लागि साग गेम्समा जितेको पहिलो अन्तर्राष्ट्रिय पदक महत्वपूर्ण छ। मैले यसमा कान्छीमाया कोजुको २ घण्टा ५५ मिनेट ५७ सेकेण्डको राष्ट्रिय कीर्तिमानलाई भंग गरेको थिए,’ यो सुनाउँदा निकै गर्वान्वित देखिएकी पुष्पाले भनिन्, ‘आफूले आइडल मानेको सिनियरको रेकर्ड तोड्दा निकै आनन्द आउँदो रहेछ।’

पुष्पाले साग गेम्समा २ घण्टा ५० मिनेट ११ सेकेण्डमा म्याराथन पुरा गरेकी थिइन। कोरोनाका कारण लामो समय उनको अभ्यासमा बाधा पुग्यो। सरकारले लकडाउन लागु गर्दा उनी सल्यानमा थिइन। प्रतिकूल अवस्थाका बाबजुद उनले ढाकामा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइन्। त्यही पनि नेपाललाई स्वर्ण दिलाइन्। यो अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै महिला नेपाली धाविकाले म्याराथनमा स्वर्ण जितेको पहिलो अवसर हो। उनको यो उपलब्धीलाई लिएर देशभित्र वाहवाही भए पनि उनी त्यति सन्तुष्ट छैनन्।

किनभने यहाँ उनको टाइमिङ १३ औं सागभन्दा खराब रह्यो। उनले २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा दुरी पुरा गर्दै स्वर्ण जितेकी थिइन। भारतीय धाविकालाई पछि पार्दै स्वर्ण हात पारे पनि उनको यो टाइमिङ १३ औं सागभन्दा करिब ९ मिनेट खराब थियो।

पुष्पाको अबको लक्ष्य ओलम्पिक खेल्ने छ। नेपालगञ्ज म्याराथनमा उनको यो लक्ष्य पुरा हुन सक्थ्यो। तर यो प्रतियोगितामा पुरुषलाई मात्र छनोट गर्ने भनिएपछि उनको सपना चकनाचुर भयो।

‘उत्कृष्ट लयमा हुँदाहुँदै छनोट खेल्न नपाउँदा दुःख लागेको छ। तर एकदिन नेपालबाट ओलम्पिकमा प्रतिनिधित्व गरेर छाड्छु,’ उनको अठोट छ। पुष्पाको यो अठोटलाई बिएल मिडियाको तर्फबाट हार्दिक नमन। सफलताले उनको पाइला चुमिरहोस्। शुभकामना। 

प्रकाशित मिति: : 2021-01-29 17:12:00

प्रतिकृया दिनुहोस्