‘नेपालमा बढ्यो भ्रष्टाचार’

नागरिक दैनिक

काठमाडाैं

ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले बिहीबार भ्रष्टाचारको अवधारणा सूचकांक (सिपिआई) सार्वजनिक गर्दै नेपाल ३३ अंकसहित गत वर्षभन्दा चार स्थान तल झरेको जानकारी गराएको हो। भ्रष्टाचार हुने देशको सूचीमा यस वर्ष नेपाल ३३ अंकसहित ११७ औं स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ। गत वर्ष ३४ अंकसहित नेपाल ११३ औं स्थानमा थियो।  

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानका अनुसार विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम र वल्र्ड जस्टिस प्रोजेक्टलगायतले गरेको सर्वेक्षणमा नेपालको स्कोर कम आएको हो। एक सय ८० देशको सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा प्रतिवेदन तयार पारिएको हो। ‘सरकारको भ्रष्टाचार विरोधी प्रयास व्यवहारमा पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरूपयोग हुनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै छन्,’ प्रतिवेदनमा उल्लेख छ।  

प्रकाशित मिति: : 2021-01-29 06:50:00

प्रतिकृया दिनुहोस्