शासकको मात्र इतिहास लेखिने परम्परा भएको ठाउँमा देशका धेरै भूभाग 'टेरा इनकग्निटा' अर्थात अज्ञातस्थल बनेर बस्छन्। नेपालमा पनि शासकसँग जोडिएका दृष्टान्त र स्थानबाहेक अन्य ठाउँ, विशेषगरी गाउँबस्तीको विगत अज्ञात छ।
लेखापढी वा कर्मकाण्ड बेला तीन पुस्ता चाहिने भएकाले बाजेको नाउँ सबैलाई थाहा हुन्छ। तर धेरैलाई त्यसअघिका पुस्ता बाँचेको समयबारे जानकारी हुँदैन।
मलाई तीन पुस्ताको नाउँ मात्र थाहा छ। कहिलेकाहीँ उता पृथ्वीनारायण शाह काठमाडौं झर्नेताका यता जुम्लाराज्यको सूर्यभान शाही शासनकालमा मेरो गाउँका मानिस को थिए, के गर्थे होला भनी कल्पना गर्न मनलाग्छ। उता दिल्लीमा अलाउद्दीन खिलजीले उपद्रो मच्चाउँदै गर्दा यता आफ्नो सम्पन्नताको उत्कर्षमा रहेको खस साम्राज्यमा मेरो गाउँको अस्तित्व कस्तो थियो भनी जान्न मन लाग्छ।
त्यसको अब पूरा जवाफ मिल्दैन किनकी मेरो गाउँमा शासकहरू बस्थेनन्। शासकको मितघर, मामाघर वा ससुराली भए पनि बढाइचढाइँ गरेर वर्णन आउँदो हो।
मेरो गाउँको इतिहास कतै लेखिएको छैन। कर्णालीमा त शासकहरूको इतिहास पनि लेखिएको छैन। भएको पनि सुनियोजित ढंगले मेटिएको छ।
खस साम्राज्यकालीन इतिहासको खोजी सुरू भएको सत्तरी वर्षजति मात्र भयो। करिब चार सय वर्ष कायम रहेको खस साम्राज्यको प्रभावशाली र वैभवशाली पहिचान सर्वत्र प्रसिद्ध छ। कम्तीमा दुई हजार वर्षदेखि संगठित मानव बस्ती रहेको कर्णाली क्षेत्रमा आधुनिक संसारका कैयौं देश बन्नुअगावै, एघारौं शताब्दीतिरै खस साम्राज्यकालीन शासकीय उच्चता तथा व्यापारिक र सांस्कृतिक अग्रता विकास भइरहेको थियो। तर यही क्षेत्र आधुनिककाल आएर पटक्कै विकसित नहुनु रहस्यमय छ।