रुवान्डा, जहाँ जातीय युद्धको डरलाग्दो इतिहास छ। अफ्रिकाको यो गरिब देशमा सन् १९९४ ताका भयावह नरसंहार मच्चियो। सय दिनको अवधिमा करिब २० प्रतिशत जनसंख्या मारिए।
हुतु र तुत्सी रुवान्डाका मुख्य जाति हुन्। यी दुई जातिको मनमुटावका कारण सय दिनमा झण्डै आठ लाख मानिस मारिए।
रुवान्डाको नरसंहार अहिले पनि विश्व समूदायका लागि उतिकै शिक्षाको विषय हो। विश्वका थुप्रै देशले यसबाट पाठ पनि सिकिरहेका छन्।
रुवान्डामा हुतु समुदायको उपस्थिति ठूलो मात्रामा थियो। यसको तुलनामा तुत्सीको संख्या निकै कम थियो। उनीहरू अल्पसंख्यक मानिन्थे। तिनै हुतु र तुत्सी जाति भिड्दा रुवान्डाको गौरवशाली इतिहास अप्रिय बन्न पुग्यो। अफ्रिकाको गरिबीसँग लडिरहेको रुवान्डा सन् १९९४ अप्रिल ७ देखि जुलाई १५ सम्म गृहयुद्धमा फस्यो।
जातीय राजनीतिले उत्पन्न द्वन्द्वले रुवान्डालाई गहिरो चोट दिएको छ। एकअर्काविरूद्ध भिड्दा हुतु र तुत्सीले न आफन्त चिने, न त साथीभाई नै। यत्तिसम्म कि श्रीमान–श्रीमतिबीच पनि झगडा भयो। कति काटिए, कति अंगभंग भए।
राजनीतिक रुपमा संरक्षित हुतु अतिवादी दिनानुदिन उग्र बन्दै जानु नै नरसंहारको मुख्य कारण मानिन्छ। यसमा हुतु निकट मिडियाको पनि उत्तिकै दोष छ।
हुतु निकट अतिवादी संगठनले अल्पसंख्यक तुत्सी समुदाय र उनीहरूका राजनीतिक विरोधीलाई निशाना बनाएर अनेकन गतिविधि गरिरहे। जनसंख्याको अनुपातमा तुत्सी अल्पसंख्यकले लामो समयदेखि देशमा प्रभुत्व जमाइरहेका थिए। यो अवस्था हुतु जातिलाई रुचिकर लाग्ने विषय थिएन। त्यसैले विद्रोहमा उभिए।
सन् १९५९ तिर देशमा राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भयो। राजतन्त्र तुत्सी समुदायनिकट मानिन्थ्यो। राजतन्त्र अन्त्य गर्न हुतुको हात रह्यो। राजतन्त्रको अन्त्यसँगै तुत्सीमाथि दमन सुरु भयो। सुरक्षित रहन उनीहरु भाग्नु प¥यो। हजारौं तुत्सी आफ्नो जीवन असुरक्षित भएको महसुस गर्दै युगान्डालगायत छिमेकी देशमा बसाइँ सर्न बाध्य भए।
हुतुको थिचोमिचोले आजित बनेका तुत्सीले १९८७ मा समूह गठन ग¥यो। यो जाति हुतु अतिवादीविरूद्ध जमेर प्रतिकारमा उत्रियो। उनीहरु देश फर्किन चाहन्थे। तर, रुवान्डामा तुत्सी जातिलाई हुतु बाहुल्य सरकारले कडा दमन र अत्याचार गरिरह्यो।
१९९४ अप्रिल ६ मा हुतु जातिका राष्ट्रपति विमान आक्रमणमा मारिए। राष्ट्रपतिको मृत्युको आरोप तुत्सी समुदायमाथि लगाउँदै हुतु जातिले तुत्सीमाथि आक्रमण गर्यो। यसरी दुई जातिको काटमारबाट झण्डै आठ लाख मानिस मारिए। यो हिंसालाई तुत्सीविरूद्धको नरसंहार पनि भनिन्छ। यो नरसंहार झण्डै एक सय दिनसम्म चलिनै रह्यो।
अचम्म र दुःखको कुरा, रुवान्डा रगतमा आहाल भइरहेको बेला विश्वका शक्तिशाली मुलुक भने चुपचाप थिए। त्यो नरसंहारलाई कसैले पनि बलपूर्वक रोक्ने प्रयास गरेनन्। मार्ने र मारिनेहरू टाढाका थिएनन्। सँगसँगै बस्ने हुतु र तुत्सी थिए। तर, हिंसाको आवेगमा कसैले कसैलाई चिन्ने र मानवता देखाउने प्रयास गरेनन्।
तुत्सीहरू जीवनरक्षाका लागि भागिरहेका थिए। उनीहरू स्कुल र चर्चमा लुक्दासमेत बचेनन्। कतिपय जिउँदै जलिरहे, महिलाहरु सामुहिक बलात्कारमा परे। हुतुहरूले खोजी–खोजी मारे। उनीहरूले तुत्सीप्रति नरमहुने हुतुलाई पनि बाँकी राखेनन्। रुवान्डाको अतिवादी हुतु जमातलाई रोक्ने कोही नहुँदा बेफ्वाँकमा सय दिनमा लाखौंले ज्यान गुमाए।