जेलबाटै आलमको आतंक : बम विस्फोटका साक्षीले सुरक्षा पाएनन्, बयान फेर्न बाध्य

टेकराज थामी

काठमाडौं

रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको जघन्य अपराधमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । तर, पैसा र प्रभावले जिल्लामा उनको आतंक र त्रास अहिले पनि उस्तै छ । आफूविरुद्ध जाहेरी दिने र सरकारी साक्षी बस्नेहरूलाई आलमले डर, त्रास र आर्थिक प्रलोभन देखाएर प्रभावित गरिरहेका छन् । 

आलमविरुद्ध जाहेरी दिएका सर्लाही गोडैलाका ६० वर्षीय शेख सफी अहमदले पनि आफ्नो बयान फेरेका छन् । यसअघि भट्टामा कोचेर हत्या गरिएका युवाकी पत्नी र ससुराले पनि आलमको दबाब र प्रभाव थेग्न नसकेर बयान फेरेका थिए । 

पहिलो संविधानसभा निर्वाचनमा बुध कब्जा गर्ने योजनासहित अफताब र उनका भाइ महताबले बम बनाउन भारतबाट कालिगढ नै मगाएका थिए । फरहदवा (अहिलेको राजपुर–२) स्थित आलमका काका शेख इन्द्रिसको गोठमा बम बनाउने कालिगढलाई सघाउन स्थानीय युवाहरू पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तरलाई बोलाइएको थियो । तर, निर्वाचनको अघिल्लो दिन २७ चैत ०६४ को साँझ दुर्घटनावश बम विस्फोट भयो । 

बम बनाउने कालिगढको घटनास्थलमै ज्यान गयो, नजिकै रहेका पिन्टु र ओसी घाइते भए । उपचार गर्दा घटना सार्वजनिक हुने डरले उनीहरूलाई इन्जेक्सन दिएर बेहोस बनाइयो र ट्र्याक्टरमा हालेर इँटाभट्टामा पु¥याइयो । जहाँ उनीहरूलाई अन्य मृतकसँगै जिउँदै इँटाभट्टामा कोचेर खरानी बनाइयो । ‘युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिँडिएको थियो,’ परिवारका सदस्यहरूले त्यतिखेर प्रहरीलाई दिएको उजुरीमा भनिएको छ ।

प्रकाशित मिति: : 2021-01-28 06:30:00

प्रतिकृया दिनुहोस्