अलबिदा बुवा!

यो आलेख प्रकासित हुँदा सम्भवत् मेरो बुवाको निधन भएको  १३ औं दिनको काम पुरा भइसकेको हुनेछ। म पराई देशमा केही शुभचिन्तक मित्रहरुको भावनात्मक सहयोगमा यो बज्रपातबाट बाहिरिने प्रयास गरिरहेको छु। 

९३ बर्ष बाँचेर, दुई पुस्तासँगको पौठेजोरी, अनि कसैलाई रत्तिभर दु:ख नदिकन चिरनिन्द्रामा डुब्नु पनि कुनै उत्सवभन्दा कम होइन। जन्म पछिको मृत्यु गीताको दिब्य उपदेश सरह हो। यो अकाट्य छ। यतिबेला मैले आफ्नो बुवाको निधनलाई कुनै उत्सवभन्दा कम आँकेको छैन। तर, मैले यति भनिरहँदा धेरैलाई रुचिकर नलाग्न सक्ला,नेपालमा बुवाको निधन भएको छ। छोरा अमेरिकामा बसेर उत्सव मनाउने कुरा गर्छ?  

जसरी कुनै शिशुले जन्म लिँदा हामी उत्सव मनाउँछौ। कसैको मृत्यु हुँदा दैवको लीला स्वीकार गर्दै उत्सव मनाउन पर्छ भन्ने मेरो विचार हो। यद्वपी यो भनेजति सहज र सरल पक्कै छैन।

छोरा बुर्लुक्क उफ्रियो भने ‘गुड जब’ भनेर होहल्ला गर्ने आधुनिक ‘ड्याडी’ जस्तो मेरो बुवा हुँदैहोइन। अर्थात् बुवासँग मेरो सम्बन्ध सँधै एउटा त्रासमा सिमित रह्यो। म मात्र होइन, त्यो समयका प्राय: सबै छोराहरुको आफ्नो बुवासँगको सम्बन्ध यस्तै हुनुपर्छ। बुवाले मलाई टाउको मुसारेर माया गरेको सम्झना छैन। तर, यसको अर्थ यो पनि होइन, उहाँले माया नै गर्नुहुन्थेन। बुवा प्रति मेरो उत्तिकै प्रेम, स्नेह र सम्मान थियो। 

त्यो बेलाको समयनै यस्तो थियो, आमाले नियन्त्रण गर्न नसकेको अवस्थामा बेलुका बुवा आएपछि कुरा लगाइदिने र दिनभरिको अपराधअनुसार बुवाको हातबाट कुटाई खानुपर्थ्यो। 
धन्न हाम्रा बावुआमा अमेरिकामा थिएनन् नत्र बच्चा कुटेको अभियोगमा उहिल्यै पक्राउ परिसक्थे। र, छोराछोरी कुटेको अपराधमा सम्भवत अहिले पनि झ्यालखानामै हुन्थे कि!

यतिबेला बुवाको निधनको खबरले मेरो निन्द्रा गुमेको छ। म असहज परिस्थितिमा छु। कोभिडको यो महामारी तथा प्रतिकुल अवस्थामा सशरीर घरमा उपस्थित हुन पाइन। मलाई यो कुराले निकै घोचेको छ। तर, केही आफन्त बुवा मर्दा पनि वास्ता छैन भनेर मेरो मानमर्दन गर्न तल्लीन देखिन्छन्। कोही फोन गरेर बाउसँग सम्बन्ध राम्रो थिएन कि भनेर सोधिरहेका छन्। 

मेरो अनुभवमा प्राय: मान्छेहरु अरुलाई दु:खी, रुन्चे र  पिडाग्रस्त भएको देख्दा आनन्द मान्छन्। बुवासँगको बिछोडको अवस्थामा पनि मैले अर्को अमुक मान्छेसँग दु:खी भएको प्रमाणपत्र लिनुपर्ने रहेछ। 

मेरा एक मित्र छन्, जसको काम नै फेसबुकमा कहिले पल्ला घरे काका मरे त् कहिले माथ्ला घरे मामा बिते भनेर पोस्ट गर्नेमा सिमित रहन्छ।  उनको काका र मामा मर्दा उनलाई यसले कति दु:खी तुल्यायो, त्यो मलाई थाहा हुने विषय भएन। तर, इमान्दार भएर भन्नुपर्दा मानवीय संवेदनाबाहेक उनको काका र मामा मर्दा मलाई रौँ जति पनि दु:ख छैन। यसैले बुवाको निधनको १३ दिनको काम सम्पन्न हुन लाग्दा पनि मैले फेसबुकमा बुवाको निधनको जानकारी नराखेको हो। मेरो यो निर्णयले उनको पेट पोलेर झन्डै मुर्छा पर्न नसकेका रहेछन्। 

मैले धेरै मानिसले नक्कली भावुकता प्रदर्शन गरेको देखेको छु। धेरै रुँदा मरेको मान्छे फर्किएर आउनेथियो भने यो जमानामा सम्भवत कोही रुँदैन्थेहोला। रुँने कार्यक्रम स्थगित गर्दै सबै भाग्थे होलान्। यो मेरो कोरा कल्पना मात्र हो। 

नेपालमा हुँदा म आबद्ध केहि संघसंस्थाका साथीले बुवाको निधनको खबर सुनेपछि मसँग बुवाको फोटो मागेका थिए, पत्रिकामा संवेदना प्रकाशित गर्न। आफू दु:खी भएको समयमा पैसा खर्च गर्नुपर्ने यो प्रक्रिया पनि मलाई फगत एउटा नाटक मात्र लाग्छ। जुका जस्तै पत्रकार चुसेर मोटाएका पत्रिकाका मालिकलाई पोस्न यो संवेदना छपाउने नाटक मान्छेहरु किन गर्छन? त्यो मैले आजसम्म बुझ्न सकेको छैन। मेरा बुवा कुनै ‘सेलिब्रेटी’ हुनुन्थेन, जसको निधनको सुचना सबैले पाउनुपर्थ्यो। मेरो लागि पत्रिकामा आफ्नो नाम छपाउने कुरा नौलो भएन। आजसम्म हजारौं पटक पत्रपत्रिकामा मेरो नाम छापिसकेको होला। यसले त केही भएन भने संवेदनामा छापिएको नामले के नै होला? यद्वपि साथीभाईले देखाएको स्नेहप्रति भने मेरो उच्च सम्मान छ। 

बुवाको विषयमा मैले लेखेको यो आलेख पढेपछि थाहा थिएन भनेर कतिले मसँग कोरा संवेदना प्रकट गर्नेछन्, जसको मलाई आवश्यकता छैन। मलाई नरुचाउने तथा डाहा मात्र गर्ने केही मान्छेले ठिक्क पर्यो पनि भन्न बेर लाउने छैनन्। त्यस्ता मान्छेलाई उनीहरुको बुवा दीर्घजीवि रहुन् भन्ने शुभकामना दिन चाहन्छु। 

दुर्भाग्यवश नाता पर्ने एउटा परिवार, जसको बुवाको सडक दुर्घटनामा निधन भएको थियो र त्यो समय मैले जे जति सहयोग गरेको थिए, त्यस्तो मान्छेले एक पटक फोन नगरेको देख्दा अचम्म लागेको छ। यद्धपि म उनको आमाको पनि दीर्घजीवनको कामना गर्दछु। 

हाम्रो समाजमा कुनै मान्छे मर्ने बितिकै उसलाई राम्रो र असल भनेर देवत्वकरण गर्ने चलन छ। तर मेरो बुवा गुणदोष दुवै भएको एउटा सामान्य मान्छे हुनुहुन्थ्यो। बुवाको अन्तिम अवस्थासम्म विभिन्न प्रकारले सहयोग गर्ने, किरियाको समय सहयोग गर्ने, विभिन्न माध्यमले संवेदना प्रकट गर्ने सम्पूर्ण सबैलाई हार्दिक धन्यबाद दिन चाहन्छु। म यहाँहरुको सदैव ऋणी रहने छु।
 

प्रकाशित मिति: : 2021-01-26 09:15:00

प्रतिकृया दिनुहोस्

    के साह्रो टिमुर्ककिएको लेख हो? बुबालाई समबेदना नचाहिने,लोकलाई नसुनाउने चाहना भए यो लेख चाहिँ किन लेखेका होलान?

    • 3 बर्ष अगाडि
    • बलिराज लिम्बू

    बुबा प्रति हार्दिक श्रद्धान्जली । धैर्य धारण गर्ने क्षमता प्राप्त होस् ।

    • 3 बर्ष अगाडि
    • Damodar Aryal

    The morning glory blooms but for an hour and yet it differs not at heart from the giant pine that lives for a thousand years

    • 3 बर्ष अगाडि
    • Binu Rayamajh

    निकै गहिरो कुरा लेख्नु भएको छ .....मनन गर्नुपर्ने कुराहरु लाग्यो मलाई । बुवा प्रति हार्दिक श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दछु ।

    • 3 बर्ष अगाडि
    • निलकण्ठ थपलिया

    समाजको वास्तविक अनुहारलाई खरो शैलीमा व्यक्त गरिएको लेख । बुबाप्रति हार्दिक श्रद्धाञ्जली । लेखकमा समवेदना ।

    • 3 बर्ष अगाडि
    • Bidhya Ghimire