सिक्किमको नाकु लामामा झडप, २० चिनियाँ र ४ भारतीय सैनिक घाइते

फाइल तस्वीर
फाइल तस्वीर

चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ। 

गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएकाे छ। 

झडपमा २० चिनियाँ र ४  भारतीय सैनिक घाइते भएको जनाइएकाे छ। 

चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय पक्षकाे दाबी छ।

अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको छ।

यद्दपी नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन। 

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेका छन्।

यसअघि गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। 

सीमाका विषयमा सन् १९६२ मा युद्ध दुई देशबीच युद्ध भएको थियो। पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले हतियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झडपका घटना भइरहन्छन्।

यद्यपी  सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका छन्। 

प्रकाशित मिति: : 2021-01-25 11:55:00

प्रतिकृया दिनुहोस्