कोरोना कहरबीच कन्याममा आन्तरिक पर्यटकको घुइँचो (फाेटाे फिचर)

प्राकृतिक सौन्दर्य र चिया बगानले भरिएको रमणीय इलामको कन्याम पूर्वी नेपालकै उत्कृष्ट पर्यटकीय स्थलहरुमध्ये एक हो। यो मनोरम स्थल समुन्द्र सतहदेखि १६३७ मिटरमा अवस्थित छ।

देशका विभिन्न स्थानबाट आउने पर्यटकहरुले इलामको कन्याममा होलिडे मनाउन पुग्ने गर्छन्। विशेष गरि गर्मी छल्न ठूलो संख्यामा पर्यटक यहाँ पुग्छन्। उनीहरु त्यहाँ पुगेर नाँच्छन्, गाउँछन्, एकछिन भएपनि चियावारी र प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिन्छन्।

कन्यामको चिया बगान हेर्न दैनिक सयौं संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु इलाम उक्लन्छन्। कोरोना महामारीले गर्दा लगाएको लकडाउनले महिनौ दिनसम्म सुनसान भएको कन्याम सरकारले खुकिलो बनाएसङ्गै आन्तरिक पर्यटकको चहलपहल हुन थालेको होटल व्यवासायी गणेश उप्रेतीले बताए।

चाराआली, बिर्तामोडदेखि करिब ४० किमि उत्तरमा पर्ने कन्याममा मेची राजमार्गको दायाँबायाँ हरियो गलैँचाको ओछ्यानजस्तै चियाबारी छन्। कुहरोसँग लुकामारी गरिरहने, शीतल मौसमप कन्यामको विशेषता हो। 

तराईबाट गर्मी छल्न आउने हुन् वा चियाबारीमा रमाउँदै फोटो खिच्ने, सबैको प्रिय ठाउँ बनेको छ कन्याम। यस्तो मनमोहक स्थानमा चियाका बुट्यानसँग लुकामारी खेल्दै रमाइने प्रेमीप्रमिका पनि कम हुँदैनन्।

प्रायः पर्यटकको चहलपहल भइरहने कन्याममा शनिबार र बिदाका दिन भने भरिभराउ हुने गर्दछ। शनिबारमा दर्जनौं वनभोज टोली त्यस क्षेत्रमा पुग्छन्।

यस्तै आन्तरिक पर्यटकको घुइचो थियो यो शनिबार जब युवा पर्यटन अभियन्ता लिलारामसङ्गै म कन्याम पुग्दा। उनीहरु चियावारी सेरो फेरो घुम्ने, घोडा चढ्ने, टिकटक बनाउनेदेखि विभिन्न जातजातिका भेषभुषा लगाएर फोटो खिच्न र सेल्फीमा रमाउदै थिए।

कन्याममा तराईका झापा, मोरङ,सुनसरी , काठमाण्डु, दोलखा जिल्ला लगाएत छिमेकी देशका सिक्किमका पर्यटकको आगमनले कन्यामको वातावरण निकै रमाइलो थियो। 

यस्तै, भारत, बंगालादेश र तेस्रो मुलुकका नागरिकसमेत कन्याममा रमाउन आइपुग्ने स्थानिय बताउछ्न। यहाँ घोडा चढेर चियाबारीको दृश्यावलोकन गर्न पनि पाइन्छ।
यस क्षेत्रबाट हिमश्रृंखलादेखि तराईका सुन्दर फाँटको दृश्यावलोकन गर्न पाइन्छ। यहाँबाट केही घण्टाको यात्रापछि पुगिने अन्तुबाट सूर्योदय हेर्न पाइन्छ।

नेपाल चिया विकास निगम अन्तर्गतका बगानहरुमध्ये कन्याममा चार हजार तीनसय रोपनी क्षेत्रफल जग्गामा चिया लगाइएको छ। 

झापाको विर्तामोडबाट ४७.२ किलोमिटर माथि चढेपछि पुगिन्छ, कन्याम। चारआली, विर्तामोडदेखि करिव ४० किमि दुरिमा रहेको कन्याम गाडी यात्रामा करिब १ घन्टा ३० मिनेट लाग्छ।  इलामको सूर्योदय नगरपालिकास्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो।

कन्यामबाट फर्किदा छुर्पी, डल्ले खुर्शानी, ललिप चक्लेट, चिया आदि कोसेलीको रुपमा ल्याउन सकिन्छ।

प्रकाशित मिति: : 2021-01-23 18:50:00

प्रतिकृया दिनुहोस्