दुई बजिसक्यो, तर प्रवोधलाई निद्रा लागेन। छेवैमा पत्नी विणा आनन्दको निद्रामा छिन्। प्रवोधले सोचे, सायद मेरो बा र आमाको सम्बन्ध हाम्रोजस्तै सुमधुर भएको भए आमा पनि बाको छेवैमा यसैगरी आनन्दले सुत्नुहुन्थ्यो होला!
प्रवोधले उठेर बत्ती बाल्यो। मुख सुकिरहेको थियो। एक गिलास पानी खायो।
प्रवोधको कोठामा एउटा ठूलो काठको दराज छ। दराजमाथि सबैभन्दा तल पुरानो रातो बाकस छ। बाकसमा एउटा कालो रङ्गको ताल्चा झुण्डिएको छ। बाकसमाथि दुइटा आधुनिक ब्रिफकेस छन्।
टिनको बाकसको बाहिर सेतो इनामेलले एउटा शब्द लेखिएको छ ‘चन्द्रकान्ता’।
प्रवोधले उठेर बाकस तल झार्यो। बाकसमा ताल्चाको प्रहारबाट उठेको आवाजले विणा निद्राबाट ब्युँझिइन्।
विणा - के गर्न लाग्नु भएको यो आधा रातमा ?
प्रवोध - निद्रा लागेन विणा ! आमाको याद आयो।
विणा - बिहान अफिस जानु पर्दैन ? यसरी अनिँदो बसेपछि अफिसमा कसरी काम गर्ने ? मलाई त स्वास्थ्य नै धन हो भनेर उपदेश दिनुहुन्छ। जो पूरा निद्रा सुत्छ र यथा समयमा सन्तुलित खाना खान्छ त्यही निरोगी हुन्छ भन्नुहुन्थ्यो त!