अदालत भन्छ- 'जेलमा नराख्नू', जेलमै कोचिइरहेछन् ७७ वर्षीय बुद्धिनारायण

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- ७७ वर्षीय बयोवृद्ध बुद्धिनारायण डंगोल गएको भदौदेखि केन्द्रीय कारागार सुन्धारामा बन्दी जीवन बिताइरहेका छन्। तर उनी जेलमा राखिनुपर्ने व्यक्ति होइनन्। अदालतले नै उनलाई ‘जेलमा नराख्नू’ भन्ने आदेश दिइसकेको छ।

अदालतले जेलमा नराख्नू भन्दाभन्दै डंगोल किन ६ महिनादेखि जेल बस्नुपर्‍यो? यो प्रश्नको उत्तर जान्न ७ महिनाअघि फर्कनुपर्छ।

साउन १ गते बिहान अन्दाजी ७ बजे। स्थान- बुढानिलकण्ठ नगरपालिका-४, पासिकोट दुप्पा। एक बालिका बिस्कुट किन्न भनेर घरबाट पसल गइन्। तर, उनी लामो समयसम्म घर फर्किइनन्। बालिकका आफन्तले उनको खोजी सुरु गरे। पछि बालिका त भेटिइन् तर अर्धनग्न अवस्थामा।

बालिकाका अभिभावकले दिएको जाहेरीमा लेखिएको छ, ‘छोरी ७७ वर्षीय डंगोलको कोठामा अर्धनग्न अवस्थामा भेटिएकी थिइन्। खाटमाथि पल्टिएकी छोरीलाई डंगोलले हातपात गरिरहेका थिए।’

बालिका बलात्कृत भएको भनेर उनका अभिभावकले डंगोललाई प्रतिवादी बनाउँदै महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा त्यसबेला जाहेरी दिए। 

‘जस्ताले छाएको माटोको कच्ची घर। मुलढोका खुलै। घरको भित्तामा टाँसेर राखिएको बिस्तरा सहितको ४ खुट्टे खाट। खाटमा कपडा छरपस्ट। त्यही खाटमाथि एक बालिकालाई बुद्धिनारायण डंगोलले जबरजस्ती करणी गरेको पाइयो,’ प्रहरीले उनीविरुद्ध यस्तो अभियोगपत्र तयार पार्‍यो।

त्यसपछि मुद्दा प्रहरी काठमाडौं जिल्ला अदालत पुग्यो। अदालतमा बयानको क्रममा बालिकाका अभिभावकले भनेका थिए, ‘डंगोलले २० रुपैयाँ दिन्छु भनेर छोरीलाई आफ्नो घर लगेछन् र जबरजस्ती गरेछन्। छोरीले योनीमा घोचेको बताइन्।’

तर, वृद्ध डंगोलले आफूमाथि लागेको आरोप अस्वीकार गरिरहे। ८५० रुपैयाँ माग्दा आफूलाई फसाएको दाबी उनको छ। ‘मबाट बालिकाकी आमाले ८५० रुपैयाँ लगेकी थिइन्। पैसा फिर्ता गर्नुपर्छ भनेर बलात्कारको आरोप लगाइन्,’ अदालतमा बयानको क्रममा उनले भनेका थिए।

प्रकाशित मिति: : 2021-01-22 18:06:00

प्रतिकृया दिनुहोस्