तेह्रथुम, इसुपुकी १४ वर्षीया गंगा बाँस्कोटा राम्रो ओछ्यानमा सुत्न थालेकी छन्। राम्रो कपडा लगाउन थालेकी छन्। यो उमेरसम्म उनले धुस्रे र चिसो सुरुवालमै काटिन्। थाङ्नामै सुतिन्।
गंगा जन्मेको केही समयपछि नै पिसाब नअडिने समस्या सुरू भएको थियो। सबभन्दा पहिला उनकी आमाले यसको भेउ पाइन्। उनी गंगालाई थाङ्नामा सुताइदिन्थिन्, एकैछिनमा थाङ्ना आहाल हुन्थ्यो।
सुरूमा त बच्चाले पिसाब गरिन् होला भनेर वास्ता गरिनन्, तर तारन्तार थाङ्ना भिज्न थालेपछि उनलाई थाहा भयो- गंगाको पिसाब चुहिरहेको छ।
आमाले आत्तिएर श्रीमानलाई सुनाइन्। छोरी च्यापेर उनीहरू गाउँकै स्वास्थ्य चौकी पुगे। त्यहाँका स्वास्थ्यकर्मीले सहर लगेर उपचार गराउन सुझाए।
सहरमा उपचार गराउन गंगाका आमाबासँग पैसा थिएन। खेती किसानी र गाईबस्तु पालेर आएको थोरै आम्दानी खानैमा ठिक्क हुन्थ्यो। उनीहरूले छोरीको बेहाल देखेर पनि मुटु गाँठो पारेर बसे।
गंगा हुर्किँदै गइन्। उनको पिसाब चुहिने समस्या ठिक भएन।
जब उनी स्कुल जाने उमेरकी भइन्, आमाले उनलाई नजिकैको प्राथमिक विद्यालयमा भर्ना गराइन्। तर पहिलो दिन नै उनी स्कुलबाट सदाका लागि विदा भएर घर आइन्।