‘काठको पाटी बोकेर स्कुल जान्थेँ’

काठमाडौं, माघ ६ : ‘गर्भ छिटा’ अर्थात् बच्चा गर्भमै हुँदा बाबुआमाले बिहे छिन्ने कर्णाली भेगको परम्परा। ०७५ फागुनमा भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव’सँगै काठमाडौंमा प्रदर्शन गरिएको नाटक ‘गर्भ छिटा’, जसले बेग्लै चर्चा पायो। गर्भ छिटाका निर्देशक हुन्, हीराबिजुली नेपाली। हीराबिजुलीको चर्चा भने त्यसको एक दशक अघिदेखि नै भएको थियो, नाटक ‘कर्नाली दख्खिन बग्दो छ’बाट।

हीराबिजुली अहिले कर्णालीमा क्षेत्रमै रंगमञ्चमा सक्रिय छन्। मुगु जिल्लाका उनी कहिलेकाहीँ काठमाडौं आइरहन्छन्। गत साता काठमाडौंमा भेटिएका हीराबिजुलीले काठमाडौं प्रेसलाई आफ्नो संघर्षको कथा सुनाए।

उनका अनुसार, कर्णालीबाट एउटा नाटक काठमाडौंमा मञ्चन गराउन दुईवटा हवाईजहाज भाडामा लिनुपर्छ। १५–१६ जनाको टिमलाई काठमाडौंमा बसुन्जेल खान–बस्न व्यवस्था गरी नाटक देखाउन सहज छैन। साथीहरूसँग ऋण लिएर कलाकार तथा नाटककार हीराबिजुली काठमाडौं आउँछन् र नाटक मञ्चन गराएर कर्णाली फर्कन्छन्।

उनी १० वर्षको उमेरमा बुवा श्याम दमाईसँग काठमाडौं आएका थिए, त्यतिबेला धेरै गाडी चलेको देख्दा उनलाई निकै रमाइलो लागेको थियो। बुवाले उनलाई तीनकुनेस्थित विद्यालयमा पढ्नलाई राखिदिए। आफू पढ्ने र बस्ने ठाउँ नजिकैबाट ठूलो हवाईजहाज उडेको देख्दा उनलाई रमाइलो अनौठो लाग्थ्यो। उनी भन्छन्, ‘दिउँसो विद्यालयमा साथीहरूसँग पढे पनि बिहान–बेलुकी हेडमास्टरकोे घरमा बस्थेँ। परिवारबाट टाढा हँुदा एक्लो भएको महसुस भएपछि भागेर गाउँ गएँ।’

गाउँमा उनी काठको पाटी बोकेर स्कुल जान्थे। लेख्नका लागि बाआमाले रातो माटोको धुलो चालेर प्लास्टिकका ठिक्क पारिदिन्थे। उनले अक्षर चिनेको काठको पाटीमा रातोमाटोले लेखेरै हो। पाटीमा माटो छरेर त्यसमा उनले अक्षर कोर्थे। त्यसरी पढ्न सुरु गरेका उनलाई काठमाडौं किन अनौठो र रमाइलो नलागोस्।

प्रकाशित मिति: : 2021-01-19 18:52:00

प्रतिकृया दिनुहोस्