ललितपुरको महालक्ष्मीमा अर्धनग्न अवस्थामा मृत भेटिए एक दम्पती

ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा घरभित्रै एक दम्पती मृत अवस्था फेला परेका छन्। 

राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल सोमवार मृत अवस्थामा भेटिएका हुन्।

चार वर्षदेखि फ्लाट भाडामा लिएर आएका उनीहरु आफ्नो कोठामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन्।

‘घटनास्थलबाट प्रहरीले स्लफर नामको विषादीको बट्टा फेला पारेको छ। विष भेटिनुले आत्महत्यातिर नै अनुसन्धान केन्द्रित भएको छ। तर, अन्य एङ्गलबाट पनि अनुसन्धान गरिरहेका छौं,’ एसएसपी बज्राचार्याले भनिन्।

प्रहरीले घटनास्थलबाट कुनै पनि सुसाइड नोट र मृत्युको कारण खुल्ने कुनै पनि कागजपत्र भेटेको छैन। ‘बन्द कोठाभित्र उनीहरु मृत फेला परेका थिए। पुरुषको शरीरको तल्तो भाग अर्धनग्न छ। मोबाइलमा कुनै जानकारी वा केही भेटिने आशंकामा प्राविधिक पक्षको अनुसन्धान सुरु गरिएको छ,’ उनले भने। 

मृत पुरुष भने भेटनरीको सामान सप्लाइको गर्दै आएका थिए। घरमा कोही नभएको मौका छोपेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनीहरुको गत फागुनमा विवाह भएको आफन्तले प्रहरीलाई जानकारी  दिएका छन्। 

गत शुक्रवारमात्र उनीहरुको बुबाआमा आफन्तकहाँ गएका थिए। आइतवार बिहान छोराबुहारीलाई फोन गर्दा सम्पर्क नभएपछि उनीहरुले घरबेटीलाई फोन गरे। घरबेटीले कोठाको झ्याल खोलेर हेर्दा अस्वभाविक अवस्था देखे। शंका लागेपछि खबर गरेको प्रहरीलाई घरबेटीले जानकारी दिएका छन्।

आज मृत भेटिएका दम्पतीको शव पोष्टमोर्टमको तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2021-01-19 11:48:00

प्रतिकृया दिनुहोस्