मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया

बिएल संवाददाता

काठमाडाै‌ं
सांकेतिक तस्बिर

मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया निःशुल्क वितरण गरिएको छ ।
 
देशव्यापी रुपमा निःशुल्क गुर्जो वितरण गर्दै हिँड्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले अभियानका २०० अभियानकर्मीका लागि निःशुल्क  गुर्जोबाट बनेको धुलो औषधि र चियाका प्याकेट वितरण गरेका हुन् । 

अभियानकर्मीलाई २०० प्याकेट चिया र २०० प्याकेट धुलो औषधि वितरण गरिएको उनले सुनाए । 

राजश्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जो रोपेर कोरोना महामारी फैलन थालेपछि उहाँ देशव्यापी रुपमा निःशुल्क वितरण गर्दै हिँडेका छन् । 
 
यसैगरी समाचार संस्था राससमा पनि अभियानकर्मी राजलवटले शनिबार गुर्जोको धुलो र चिया वितरण गरेका छन् । गुर्जोका विषयमा सामान्य जानकारी समेत दिँदै निःशुल्क वितरण गर्ने अभियान गत वैशाखदेखि जारी छ । गुर्जोका बिरुवा भने हाल रोप्न बेमौसम हुने कारणले वितरण गरिएको छैन । फागुनपछि बिरुवासमेत रोप्नका लागि वितरण गरिने जनाइएको छ । निःशुल्क गुर्जो वितरण अभियानमा राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग शिक्षक किशोर जोशी र जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थीलेसमेत साथ दिँदै आएका छन् । 
 
हालसम्म एक लाख ५० हजार भन्दा बढी गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरिएको राजलवटले बताए । बिरुवासँगै गुर्जोबाट बनेको धुलो औषधि र चियासमेत वितरण गरिएको छ । एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउँछन् । 
 
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणलेयुक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उनले बताए । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणयुक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुनसकेको छैन ।

कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ । यसले ठूला धनराशि विदेशिने गरेको छ । आयुर्वेदिक औषधि बनाएर बिक्री वितरण गरे त्यो पैसा स्वदेशमै बस्नेछ ।
 
आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ ।
   
उपत्यकाका धेरै स्थानमा एक घरमा एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी निःशुल्क वितरण भएको छ । देशभर एक घर एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी वितरण गर्ने गुर्जो अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । शनिबार र बिदाका दिन छट्टी नमनाएर अभियानकर्मी राजलवट निःशुल्क गुर्जो वितरण गर्दै हिँड्छन् । माग गर्ने जतिलाई निःशुल्क गुर्जोका बिरुवा दिन तयार रहेको उनले सार्वजनिक घोषणा गर्दै आएका छन् ।
 
आधुनिकतासँगै मानिसले बिर्सँदै गएका गुर्जोजस्ता सयौँ वनस्पतिका बारेमा खोज अनुसन्धान गरी त्यसबाट हुने फाइदाका बारेमा प्रचारप्रसार गरिनुपर्ने माग पनि अभियानकर्मीले गरेका छन् । गुर्जोका परिकार गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकालाई सेवन गर्न निषेध गरिएको छ । रासस 

प्रकाशित मिति: : 2021-01-17 14:10:00

प्रतिकृया दिनुहोस्