‘चौध वर्ष पिसाबमा डुबेर बिताएँ, अब नर्स बनेर सेवा गर्ने धोको छ’

बाह्रखरी

काठमाडाैं

काठमाडौं । “अनि, डाक्टर मनोज तपाईंलाई यति बेलासम्म भोक लागेन त ?” पेटको घाउ सफा गर्दै गरेका डाक्टरलाई बिरामी बालिका शय्याबाटै सोध्छिन् । “ओहो ! तिमी त अब सबैको ख्याल गर्न थालिसक्यो है ?” डाक्टर दंग पर्दै जवाफ फर्काउँछन् ।

तीनपटकको सर्जरीपछि गंगा पहिलो फलोअपमा आएकी छन् । ७ साताअघिकी निराश, कसैसँग नबोल्ने, एक्लै उभिइरहने बिरामी होइन हँसिली, सबैसँग बोलिहाल्ने अनि फुर्तिली गंगा अर्थात् गंगा बास्कोटा ।

तेह्रथुमको विकट फेदाप गाउँमा जन्मिएकी गंगा सामान्य व्यक्तिझैँ पिसाब फेर्न सक्दिन थिइन् । “थाहा हुन्थ्यो । तर, पिसाब रोक्न सक्दिनथेँ । जहाँ जति बेला लाग्यो, त्यहीँ चुहिन्थ्यो । घरभित्र, बाहिर, दाउरा-घाँस जाँदा ओछ्यानमा सुत्दासमेत पिसाबमै डुबिरहेकोजस्तो लाग्थ्यो । घरमा फल्याकको छुट्टै ओछ्यान थियो म सुत्ने । छिमेकतिर गए पिरामा नबस्, मुढामा नबस् ऊ... त्यहाँ बस् भन्दै छिःछि दुर्दुर गर्थे ।”

गंगा विगत् सम्झिँदै भन्छिन्, “मलाई स्कुल जान पढ्न साह्रै रहर थियो । आमाले लिएर पनि जानुभयो । तर, केही दिन स्कुल गएपछि मलाई शिक्षक-शिक्षिकाले नै निकाले, भोलिदेखि नआउनू भने । म त्यो दिन रातभर रोएर सुतिनँ ।” आर्थिक अवस्था कमजोर रहेको बास्कोटा परिवारमा न उपचार खर्च थियो न अस्पतालसम्मको पहुँच नै । पिसाबले भिजेरै बिते गंगाका १४ वर्ष ।

काठमाडौं मोडल अस्पतालसम्मको यात्रा
गंगाकी जेठी दिदी कमला खड्का, जसलाई बहिनीको यो अवस्थाले सधैं मन भारी भइरहन्थ्यो । काठमाडौं ल्याएर उपचार गराउन पाए त ठीक हुन्थ्यो कि ? धेरै सोचिन् । तर, परिवारमा कसैले काठमाडौं ल्याउने आँट देखाएनन् । जसोतसो उनैले लिएर आइन् । सुरुमा महिलासम्बन्धी रोग भन्ठानेर प्रसूतिगृह थापाथली पुर्‍याइन् । तर, प्रसूतिका चिकित्सकले त्यहाँ उपचार नहुने बताउँदै काठमाडौं मोडल अस्पताल लैजान सुझाए । बहिनीलाई लिएर मोडल अस्पताल पुग्दा उपचार हुने आशा त जाग्यो । तर, उपचारमा लाग्ने खर्चबारे सुन्दा रुनु न हाँस्‍नु भइन् कमला । शल्यक्रियाका लागि आवश्यक डेढ लाख रुपैयाँ उनले बिहान-बेलुका ठेलागाडामा तरकारी बेचेर गरेको जोहोभन्दा निकै ठूलो रकम थियो । कमलाले काउन्सिलिङ रुममै बिन्ती बिसाइन्, “हामीसँग त त्यति पैसा छैन, डाक्टर'साब के गरौँ त बहिनीलाई ?”

प्रकाशित मिति: : 2021-01-17 07:50:00

प्रतिकृया दिनुहोस्