सुनौलो सपना बोकेर हाँस्दै, रमाउँदै वैदेशिक रोजगारीमा जाने कति नेपाली बन्द बाकसमा फर्किन्छन्, यी कथा धेरैपटक लेखिए । तर, यो एउटा यस्तो युवाको कथा हो जसको शव नेपाल आयो र अन्त्येष्टि पनि गरियो । तर, केही महिनापछि उनी जीवितै फर्किए । उनको घरमा आश्चर्यजनक खुसी फर्कियो । तर, अर्को युवा को थिए ? जसको अन्त्येष्टि भयो । दुई विपन्न परिवारको हर्ष र बिस्मातको एउटा भयानक कथा ।
नेपाली पात्रोअनुसार २४ असार ०७२ । साउदी अरबको हुन्डाई कम्पनीका मजदुर सुवास तामाङ जेद्दा सहरको एउटा एटिएमतर्फ जाँदै थिए । मोरङको बेलबारीस्थित लक्ष्मीमार्ग घरमा छुट्टी मनाएर फेरि काममा फर्किएका उनी तलब लिन जाँदा ट्याक्सीमा थिए, साथमा थिए कम्पनीकै चारजना साथी ।
तर, उनीहरू एटिएम बुथसम्म पुग्न पाएनन् । उनीहरू चढेको ट्याक्सीलाई एउटा ट्रकले ठक्कर दियो । यो भयानक दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भयो । गम्भीर चोटग्रस्त र अचेत अवस्थामा दुईजनालाई हेलिकोप्टरमार्फत अब्दुलअजिज अस्पताल पुर्याइयो ।
अस्पताल पुगेको भोलिपल्ट एकजनाको मृत्यु भयो । अस्पतालले खबर गरेपछि हुन्डाईका प्रतिनिधि अस्पताल पुगे । उनीहरूले भने, यो शव त सुवासको हो ।
अस्पतालले सुवास तामाङको मृत्यु भएको प्रमाणपत्र बनाइदियो । २८ दिनपछि शव नेपाल पठाइयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुवासकी श्रीमतीको करुण क्रन्दन गुञ्जियो । आफन्तले शव र सुवासकी श्रीमतीलाई घर पुर्याए । आफन्तले बेलबारी पुगेर सुवासको अन्त्येष्टि पनि गरे ।
भोजपुरबाट मोरङ बसाइँ सरेको यो परिवारले ऋणधन गरेर एकतले पक्की घर बनाएको थियो । श्रीमान्को अन्त्येष्टि गरेकी सन्तोषी तामाङको भवसागर दुःख भर्खर सुरु भएको थियो ।