पाइपलाइनबाट डिजल चोरी, निगम भन्छ : हामीलाई कुनै क्षति छैन

बिएल संवाददाता

काठमाडाै‌ं

भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि प्रयोग भइरहेको ‘पेट्रोलियम पाइपलाइन’ बाट इन्धन चोरी भएको छ। 

भारतको बिहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिकै पाइपलाइनबाट डिजल चोरिको प्रयास भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन्। 

तर कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन। भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य प्रकाशमा आएको हो।

डिजल चोरीको प्रयास भएपनि कुनै ठूलो परिमाणको क्षति नभएको निगमको भनाइ छ।  

प्रवक्ता उपाध्यायले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेपाल भारत सीमाको रक्सौल नाकादेखि करिब सय किलोमिटर भारततर्फ चोरिको प्रयास भएको बताउँदै यसले नेपाल आयाल निगमलाई कुनै क्षति नभएको जनाएका छन्। 

पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले इन्डियन आयल कर्पोरेसनलाई जानकारी दिएका थिए। 

इन्डियन आयल कर्पोरेसनका कर्मचारी तथा प्राविधिक टोलीले स्थलगत अनुसन्धान गरेपछि चोरीको तथ्य प्रकाशमा आएको हो।

जमिनको सतहबाट करिब चार फिट गहिराइमा रहेको पाइपमा प्वाल बनाएर सानो पाइप जोड्दै चोरहरुले इन्धन चोरी गर्दै आएको पाइएको हो।

इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ।

यता निगमले  अहिले उक्त पाइपलाइनबाट २ लाख ५० हजार लिटरप्रति घन्टाका दरले डिजल आयात गरिरहेको समेत जनाएको छ। 

 

प्रकाशित मिति: : 2021-01-15 17:25:00

प्रतिकृया दिनुहोस्