करोडौंको गुड बेच्छ गुल्मीको थोर्गा गाउँ

आयोमेल

काठमाडौँ

कृष्ण मल्ल

गुल्मीको एउटा गाउँबाट वार्षिक डेढ करोडभन्दा बढीको गुड बिक्री हुने गरेको छ। रुरुक्षेत्र गाउँपालिकाको उक्त गाउँ कृषि पकेट क्षेत्र हो। पुर्ख्यौलीदेखि उखु खेती गर्दै आएका थोर्गा  गाउँका किसानलाई उखु उत्पादनसँगै व्यावसायिक सीप दिएपछि स्थानीयले व्यावसायिक रूपमा गुड उत्पादन गरिरहेका छन्।

पहिलेदेखि स्थानीय रिडीको माघे संक्रान्ति मेलामा गुड व्यापार गर्नेले अहिले रिडीमात्र नभई, पाल्पा, बुटवल, पोखरा, काठमाडौंदेखि विदेशसम्म पुर्‍याएका छन्। थोर्गेली गुड यस क्षेत्रकै ब्रान्डिङ नाम हो। थोर्गेली गुड यस क्षेत्रमा खानमात्र होइन अरूलाई पाहुर लगिदिने हुँदा निकै बिक्री हुने गर्छ। 

गाउँपालिकाका ३ र ४ वडा थोर्गा र थानीडाँडाका गाउँमा गाउँपालिकाले उखु पकेट क्षेत्रका रूपमा विस्तार गरेको छ। तीन वर्षदेखि सञ्चालित उखु पकेट क्षेत्रमा किसानहरू उखु लगाउने, गोडमेल गर्नेदेखि उखु स्याहार्ने र उखुको खुँदोबाट गुड बनाउने काम गर्दै आएका छन्।

उखु पकेट क्षेत्रबाट एक वर्षमा डेढदेखि २ करोडसम्मको गुडमात्रै बिक्री हुने गरेको रुरुक्षेत्र गाउँपालिकाका प्रवक्ता शेषनारायण पौडेलले जानकारी दिए। 

पौडेलले उखु पकेट क्षेत्र कार्यक्रमअन्तर्गत गत वर्ष १ हजार ६ सय क्विन्टल उखु  रोपिएको र यस वर्ष १ हजार क्विन्टल थप उखु लगाउने तयारी छ। उखु खेतीबाट आर्थिक लाभ लिन थालेपछि स्थानीयले उखु फालेर मकै खेती गरेकोमा पुनः उखु रोप्न थालेका छन्।

प्रकाशित मिति: : 2021-01-14 12:20:00

प्रतिकृया दिनुहोस्