आयोगले अध्यक्ष, महासचिव होइन, केन्द्रीय समितिको बहुमत हेर्छ : अयोधीप्रसाद यादव (अन्तर्वार्ता)

नेपाल खबर

काठमाडौँ

मणि दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक मान्यता र सूर्य चुनाव चिन्ह कसले पाउँछ? प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष अलग अलग भएपछि अहिले सर्वाधिक सोधिने प्रश्न हो यो। र, काुननी रुपमा यसको छिनोफानो गर्ने निकाय हो– निर्वाचन आयोग, जसप्रति अहिले नेकपाका करिब १० लाख कार्यकर्ताले आँखा लगाइरहेका छन्। यो किनपनि भने ओली वा प्रचण्ड–नेपाल कुन समूहतिर लाग्ने भन्ने निर्णय गर्नुअघि दशौं हजार कार्यकर्ता त जसले आधिकारिकता र सूर्य चिन्ह हात पार्छ उतै लाग्ने मनस्थिति बनाएर बसेका छन्।

नेकपाको राजनीतिक विभाजनसँगै केन्द्रीय समितिको करिब ७० प्रतिशत संख्या आफुतिर रहेकाले विगतका नजिरहरूलाई समेत आधार बनाएर पार्टीको आधिकारिक नाम र सूर्य चुनाव चिन्ह आफुहरूले पाउनु पर्ने जिकिर प्रचण्ड–नेपाल पक्षले गरिरहेको छ। प्रधानमन्त्री ओली पक्ष भने एक जना अध्यक्ष, महासचिव र बैठकको माइन्युट आफुसँग भएकाले नाम र चुनाव चिन्ह आफ्नै हुने दाबी गरिरहेको छ। विगतमा धेरै यस्ता राजनीतिक दल विभाजनको झमेला व्यहोर्दै आएको निर्वाचन आयोगका लागि संभवतः नेकपाको विभाजनको आधिकारिकता छुट्याउने अनुभव सबैभन्दा ठूलो र जटिल पनि हुने देखिन्छ।

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त अयोधीप्रसाद यादव एक जना त्यस्ता पात्र हुन्, जसले करिब १२ वर्ष आयोगमा रहँदा कम्तिमा आधा दर्जन दलहरू विभाजनका विवाद सल्ट्याएका छन् र आधिकारिकताको निर्णय दिएका छन्। अहिलेको राजनीतिक दलसम्बन्धी ऐनको मस्यौदा पनि उनै यादवको नेतृत्वमा भएको थियो। र, संयोगले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेकपा बन्दा प्रमुख निर्वाचन आयुक्त यादव नै थिए। अब नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले कस्तो निर्णय देला त? अयोधीप्रसाद यादवको जवाफः

सत्तारुढ दल नेकपा विभाजन भएपछि सबैको नजर निर्वाचन आयोगतर्फ सोझिएको छ। विगतमा पनि धेरै पटक दलहरु विभाजित र एकीकृत भएका थिए। तपाईं आयोगमा हुँदा विवाद कसरी समाधान गर्नुभएको थियो?
कुनै एक पक्षले हामी बहुमतमा छौँ भन्दै नाम, चुनाव चिन्हमा दाबी गरेपछि आयोगको प्रक्रिया सुरु हुने हो। तर, त्यसका लागि कागजात देखाउनु पर्‍यो। संसदीय व्यवस्थामा सबैभन्दा महत्वपूर्ण भनेको गणित नै हो। संख्या नै हो। संसदमा पनि त्यही हुन्छ।

प्रकाशित मिति: : 2021-01-13 11:43:00

प्रतिकृया दिनुहोस्