महाअभियोग हाँस्यास्पद: ट्रम्प

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बुधवार संसद् भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधनको बचाउ गरेका छन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण गरिएको पर्खालको केही भाग अवलोकनका लागि टेक्सास जाने क्रममा ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरु माझ आफ्ना सयौं समर्थकहरूले हारलाई उल्ट्याउन उक्साउने गरि गरेको भाषणकाे बचाउ गरेका हुन् ।

गएको बुधबार आफूले गरेको सम्बोधन ट्रम्पले आफ्ना आक्रोशित तथा हतियारसहित आएका समर्थकलाई संसद भवनमा घुस्न सुझाएका थिए । संसद् भवनअघि जम्मा भएको समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले संसद भवनमा मार्च गर्न भनेका थिए ।

त्यसपछि राष्ट्रपति निर्वाचित जो वाइडनको विजयलाई प्रमाणीकरण गर्ने संसद्को सत्रलाई रोक्ने र संसद् भवन कब्जा गर्ने प्रयास उनीहरूले गरेका थिए।

ट्रम्प समर्थकहरूलाई संसद् परिसरबाट हटाउनका लागि तीन घन्टा संघर्ष गर्नुपरेको थियो। समर्थकहरू संसद् भवनका हलवेमा दौडेका थिए अनि विभिन्न कार्यालयमा पसेर विध्वंस मच्चाएका थिए। 

हिंसामा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएकाे थियाे । तर ट्रम्पले भने सो आक्रमणका लागि उक्साउने आफ्नो कार्य पूर्ण रुपमा उचित रहेको बताएका हुन् ।

संसद भवनमा बिद्रोहका लागि उक्साएको अभियोगमा तल्लो सदनमा डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् । तल्लो सदनमा बुधबार महाभियोग प्रस्तावमाथि मतदान हुने तयारी छ ।

तर ट्रम्पले सो कार्य हाँस्यास्पद भन्दै खारेज गरेका छन् । आफ्नो भाषणलाई बंग्याएर आफूविरुद्ध प्रयोग गरिएको आरोप ट्रम्पले लगाएका छन्।

महाअभियोग प्रस्तावले देशमा ठूलो मात्रामा आक्रोश खतरा सिर्जना गरेको बताएका ट्रम्पले आफू हिंसाको पक्षमा भने नरहेको दाबी गरे ।

 

 

प्रकाशित मिति: : 2021-01-13 08:23:00

प्रतिकृया दिनुहोस्