प्रश्‍नसँग किन असहिष्णु छन् ओली ?

शिलापत्र

काठमाडाैं

जब शासकहरू आफ्नाविरुद्ध विकार बढिरहेको अनुभूति गर्छन्, उनीहरूमा ठूलो तनाव उत्पन्न हुन्छ । त्यो तनावले सुरक्षाको खोजीमा पुर्‍याउँछ । सुरक्षित हुनका लागि उनीहरू अधिनायकवादी हुन पुग्छन् ।आफूमाथिका प्रश्नको प्रतिवादमा लाग्छन् । प्रश्नसँग क्रुद्ध हुन्छन्’, दार्शनिक तथा मनोविद् इरिक फ्रोमले सन् १९४१ मा प्रकाशित गरेका ‘स्केप फ्रम फ्रिडम’ पुस्तकमा लेखेका छन् ।

प्रधानमन्त्री केपी ओलीको स्थिति इरिकले भनेझैँ छ यतिबेला । प्रतिनिधिसभा विघटन गर्ने उनको कमदलाई अधिनाकयवादी र असंवैधानिक भन्दै चर्को विरोध भइरहेको छ । यो सन्दर्भमा उनका कदममाथि सहकर्मीसमेतले विरोध गरिरहेका छन् । सडकदेखि सदन र नागरिक समाजदेखि न्यायिक समाजले प्रश्न उठाएका छन् । तर, ती सबै प्रश्नप्रति ओली क्रुद्ध छन् ।

दम्भ, शक्तिको भोक र त्रासका कारण ओली आफूविरुद्ध प्रश्न उठ्दा असहिष्णु देखिएको  जानकारहरू बताउँछन् ।

१. अहङ्कार

प्रधानमन्त्री ओलीलाई बहुमतले दम्भी बनाएको मानवशास्त्री डम्बर चेम्जोङको तर्क छ । बहुमतले शासकलाई दम्भी र भ्रष्ट बनाउने चेमजाेङ बताउँछन् । त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख चेम्जोङ भन्छन्, ‘सत्ताले मान्छेलाई भ्रष्ट बनाउँछ। बहुमतप्राप्त सत्ताले झनै भ्रष्ट बनाउँछ भन्ने अंग्रेजी भनाइ छ । ओलीलाई पनि त्यही भएको हो । आफूप्रतिको आलोचना र प्रश्नमा असहिष्णु देखिनु विगतको बहुमतको दम्भ हो ।’

दम्भी स्वभावकै कारण उनले सत्यलाई स्वीकार गर्न नसकेको चेम्जाेङकाे बुझाइ छ । यो कुरा प्रतिनिधिसभा विघटनपछि अघि सारेका उनका तर्कले प्रस्ट पार्छ ।

संविधानको धारा ७६ का प्रावधानले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन । यो कुरा विधायकीहरूले सार्वजनिक रूपमा बारम्बार भनिरहेका छन् । संस्थागतरूपमा समेत कांग्रेस, नेकपाकाे प्रचण्ड-माधव समूह र राष्ट्रिय जनता पार्टी (राजपा)ले ओलीकाे कदम असंवैधानिक भनिरहेका छन् । अदालतले संविधानको मर्म र भावनाअनुसार संसद् पुनर्स्थापनाको पक्षमा फैसला दिनुपर्ने उनीहरूको मनसाय र माग छ । तर, यस्ता माग अराजक भएको तर्क ओलीको छ । यस्ता तर्क गर्नेहरूलाई ओलीले संविधान पढ्न सुझाएका छन् ।

प्रकाशित मिति: : 2021-01-11 17:44:00

प्रतिकृया दिनुहोस्