९० सालं भोखा ब्वउ भले जी झिदा दौ का।’
अर्थात् ९० सालको भूकम्प आउँदा १० वर्षकी थिएँ । ‘कति वर्ष पुग्नु भो’ भन्ने जिज्ञासामा राधादेवी जोशीले मुहारमा उही १० वर्षे निर्दोष भाव ल्याएर उत्तर दिइन् । यस हिसाबले उनी ९७ पुगिन् । अर्थात् ९७ वटा हिउँद खाइन्।
हिजो छाडी अस्ति (२३ पुसको दिन) दिउँसो उनी रातो बाक्लो स्वेटर, त्यसमाथि रातो पछ्यौरी र रातै फुलबुट्टै सारीमा सजिएर घरको ढोकानजिकै घाम तापिरहेकी थिइन्, गुराँस फुलेको पहाडजस्तै । शिरमा सेतै फुलेको कपालले हिमालको आभास दिन्थ्यो । छड्के घाम उनको ढोका भएर भित्र पनि पोखिएको थियो।
उनी मेरै प्रतीक्षामा थिइन्, ‘काठमाडौं प्रेस’का लागि समय दिएकी थिइन् । उनको बाल्यकाल, विवाह, उनले भोगेको समयबारे कुरा गर्ने निधो भएको थियो । फोनमा कुरा हुँदा नेपालीभन्दा नेवारीमा खुलेकी थिइन् । नेवार सभ्यता र संस्कृतिको एउटा केन्द्र पाटन दरबारछेउ जन्मी–हुर्की र त्यहीँ नजिकै विवाह गरेकी उनी आफ्नै मातृभाषामा अभ्यस्त छिन् । फोनमा पनि नेवारीमा कुरा भएकाले उनी समय दिन राजी भएकी थिइन्।
कान टाठा छन्, सियो खसेको आवाज पनि सुन्छिन् । आफ्नो उमेर–अवस्थाबारे उनी भन्छिन्, ‘एउटा दाँत हल्लिएको छ, अर्को भर्खरै उम्रन थालेको छ।’
उनलाई आफ्नो जन्म साल सम्झना छैन, जन्मतिथि भने याद छ– ज्यापुन्हि (जेष्ठ शुक्ल पूर्णिमा)को अघिल्लो दिन।
‘म पनि त्यही दिन जन्मेकी हुँ । हाम्रो जन्मतिथि एउटै परेछ,’ मैले नेवारीमा भनेँ । एउटै जन्मतिथिले गर्दा पनि हामी कुराकानीका लागि अझ आत्मीय भयौँ।