बिशाल बिहानीका ५ गजल

गजल

बिशाल बिहानी

दिक्तेल, खोटाङ

गल्ती मेरै थियो म झुकेर तिम्रो सामु आउनु पर्छ 
थाहा छ मलाई खोलिले हैन तिर्खाले धाउनु पर्छ 

तिम्रो महलको के औकात छ र झुपडीको अघि
झुपडीमा पस्न कालले पनि शिर झुकाउनु पर्छ

ए मान्छे हो ! यति धेरै लालच गर्छौं केका लागि
अन्तमा आखिर तिमिले पनि माटैको सिरानी लाउनु पर्छ

जाति,धर्म,संस्कार भन्दै किन लड्छौ भाई भाईमा
बुझेकै छौ सबैको सफर चिहानमा बिसाउनु पर्छ

कति शान्त देखिन्छन् झट्ट हेर्दा यी आँखा पनि
तर आँखाले पनि आँसुको समुन्द्र लुकाउनु पर्छ

२)
वितथ रैछ तिम्राे प्रेम यो दिलबाट हटाएको छु 
थिएनौं सम्झिन लायक भनि मन बुझाएको छु

नक्कली मुस्कानको नकाप भिरेर मेरो सामु नपर
पुगिसक्यो अब झुठको खेतीले म अघाएको छु

मनभरी पिरको भारी बोकि बाँचेर पो खै के गर्नुरु
लिन आउँदै होला काल पक्कै खबर पठाएको छु

मलाई बुझाउनु पर्दैन तिम्रो भगवानको बारेमा
म मजदुर हुँ , यस्तो कयौं मुर्ती आफैं बनाएको छु

चिहानबाट मुर्दापनि सायद एउटै कुरा भन्दै होला
बल्ल ती जीउँदो लासबाट छुटकारा पाएको छु

३)
बरु फुल बेच नारी तिमी के पायौ जवानी बेचेर ?
भन युवा कति कमायौ दुध भन्दै चौलानी बेचेर ?

यता सरकार भने भ्रष्टाचारीतर्फ ब्यस्त छ अझै
उता सकिदैँछन् युवा विदेशमै जिन्दगानी बेचेर

डिग्रीको प्रमाणपत्र बोकि बेरोजगार बस्नुभन्दा 
केही पैसा आउन सक्छ जलाएर खरानी बेचेर

यो आँसुको मुल्य यदि तोकिएको हुन्थ्यो भने
म धनी बनिसक्थे होला आँखाको पानी बेचेर

स्वार्थको स्वच्छ किरण पठाएर यो घामले पनि 
दिनको दलाली गर्न खोजीरहेछ बिहानी बेचेर

४)
टुङ्गियो जिन्दगी , टुङ्गियो मेरो , रहरमा टुङ्गियो
दनदनी जलिरहेको चिता सँगै बगरमा टुङ्गियो

कयौं सपना पोक्याएको थिए मैले आँखाभरी
आँसु थोपा सँगै सपना पनि नजरमा टुङ्गियो

टोलाइ रहेका थिए यी नयन कसैको पर्खाइमा
नयनको खाेज पुगेर उनको अधरमा टुङ्गियो

कुनै बखत सबैको साथ नपाएको हैन मैले
एकएक गरि गन्तव्य बिहिन सफरमा टुङ्गियो

कयौं हारहरुमा दया यो देखाएन जिन्दगीले 
व्यर्थै स्वास यो विशालको अवसरमा टुङ्गियो

५)
तिमिले चिनो दिएको मनको जखम अझै उस्तै छ
बल्झिरहेको छ दुखाई भा छैन कम अझै उस्तै छ 

मन त थियो धन थिएन प्रेम बाहेक के दिन सक्थे 
तिम्रो त्यो रुप र धन प्रतिको अहम अझै उस्तै छ

म सँगको तिम्रो प्रेम बदलियो , बदलिए प्रेमी पनि
बदलिएको छैन झेली बानी कसम अझै उस्तै छ

सुन्ने गर्छु हरेक गल्ली गल्ली तिम्रो मात्रै चर्चा छ रे 
गलतीमा पनि नलाग्ने तिम्रो सरम अझै उस्तै छ

पराईको हात समाइ गयौ खुशी छौ होला पक्कै 
यता तिम्रो नाममा गुञ्जिने सरगम अझै उस्तै छ

प्रकाशित मिति: : 2021-01-09 19:54:00

प्रतिकृया दिनुहोस्

    Wa damiy xa vai👏👏👍

    • 3 बर्ष अगाडि
    • Anish chamling