जुम्लामा छायांकन गरिएकाे टेलिसिरियल '४ दुना ९' काे प्रशारण शुरु

नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यकासाथ निर्माण गरिएको नयाँ हाँस्य टेलिसिरियल '४ दुना ९' बिहीबारदेखि नेपाल टेलिभिजनबाट प्रशारणमा भएको छ। 

देशको ७७ वटै जिल्ला विभिन्न समयमा छायांकन गरिने टेली सिरियल नेपाल टेलिभिजनबाट साँझ ७ बजे प्रसारण भएकाे कलाकार गाेविन्द सुनारले जानकारी दिए।

प्रशारण अघि भएकाे कार्यक्रममा अतिथिको रुपमा उपस्थित नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम '४ दुना ९' टिमले गरेको भन्दै कामको प्रशंसा गरेका थिए।

'नेपालको पर्यटकीय क्षेत्रहरुलाई एक टेलिसिरियलमार्फत् देशव्यापी बनाउन खोजेकाले सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छ,' उनले भने, 'यस्ता प्रशंसनीय कार्यलाई पर्यटन बोर्डले सकेकाे सहयोग गर्नेछ।'

उक्त कार्यक्रममा जुम्ला र मुगुका मनोरम दृश्य समेटिएको सिरियलको प्रोमो देखाइएको थियो। टेलिचलचित्रका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केही कलाकारसँगै अन्य अधिकांश स्थानीय कलाकारको अभिनय रहेको छ।

टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले सुरुको चार भाग जुम्ला र मुगुमा खिचिएको बताए। 'त्यहाँको मौलिकताको प्रशंसा गरेरै सक्दिनँ। रीतिरिवाज, रहनसहनले मेरो मन तानेको छ,' उनले भने, 'हामीले त्यही मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं। दर्शकलाई अवश्य मनपर्नेछ।'

जुम्ला र मुगुमा चार भाग खिच्नकै लागी १३ दिन खर्चिएको टेलिसिरियलका निर्देशक छेडुप लामाले जानकारी दिए। उनले भने, 'नेपालको पर्यटनलाई देशव्यापी बनाऔँ भन्ने सोचेर यो टेलिचलचित्र निर्माण गरिएको हाे।' 

टेलिसिरियल प्रत्येक भाग ३० मिनेट बराबरको हुनेछ। ३० मिनेटको एक भाग समेटिने यस टेलिसिरियल जिल्लामा ३ देखि ५ भागसम्म छायाँकन हुने बताइएको छ। 

पर्यटन क्षेत्रलाई सहयोग पुग्ने हेतुले निर्माण गरिएको यो टेलिसिरियलमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमशंङ्खलाहरु, तालहरु, नदी नालाहरु, मन्दिर, गुम्बा, चैत्यहरु, प्रमुखजात्रा, पर्व, मेलाहरु, यहाँबसोवास गर्ने समुदायका लोक नृत्यहरु, जाति विशेष बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीत संगीत, व्यवस्थीत पर्यटक लक्षित होटल तथा लजहरु, यातायाको सुविधाको लागि राजमार्गहरु, विकास निर्माणका कार्यहरु आदि समेटिने बताइएको छ।

टेलिसिरियलमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोविन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ।

प्रवेश पोखरेल र गोकुल रावतको छायाँकन रहेने सिरियल रबिन भट्ट र सौखिन तिमल्सिनाले सम्पादन गर्ने छन्। टेलिसिरियलमा कर्मा डि लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहनेछ। कथा लेखनमा रेशम बुढाथोकी रहेका छन्।

प्रकाशित मिति: : 2021-01-09 07:56:00

प्रतिकृया दिनुहोस्