सिंहदरबार छाडी धनगढी!

सेतोपाटी

काठमाडाैं

चैत २ गते प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार गएका थिए। त्यो दिन सार्क राष्ट्रहरूबीच कोरोनाभाइरसको कसरी सामना गर्नेबारे भिडिओ कन्फरेन्स थियो।

त्यस्तै उनी सात प्रदेशहरूको मुख्य मन्त्रीसँगको भिडियो कन्फ्रेन्समा पनि सिंहदरबार गएका थिए। त्यसयता उनी सिंहदरबार गएका छैनन्। त्यसो त २०७६ फागुन २२ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली बालुवाटारबाट बिरलै निस्किएका छन्।

यो बीचमा प्रधानमन्त्री ओली कात्तिक २६ गते संखुवासभा र मंसिर ८ गते इलाम पुगेका थिए।

गत पुस ५ गते संसद विघटन भएपछि भने उनको सक्रियता ह्वात्तै बढेको छ। सार्वजनिक कार्यक्रममा बाहिर ननिस्किएका प्रधानमन्त्री ओलीले एक सातामा दुई पटक त कार्की पार्टी प्यालेसमा गएर लामो भाषण गरे। त्यस्तै प्रज्ञा भवनको सार्वजनिक कार्यक्रममा पनि उनी पुगेका छन्।

यति सक्रिय हुँदा पनि प्रधानमन्त्री ओलीको सिंहदरबार जाने साइत भने अझै जुरेको छैन। २०७४ साल फागुनमा प्रधानमन्त्री भएयता उनी निकै कम मात्रामा सिंहदरबार पुगेका छन्। मन्त्रिपरिषदका सबैजसो बैठक बालुवाटारमै बसेका छन्। ओली क्याबिनेटबाट राजीनामा दिएका एक मन्त्रीका अनुसार उनले एकतिहाइ बैठक पनि सिंहदरबारमा राखेका छैनन्।

प्रकाशित मिति: : 2021-01-08 18:22:00

प्रतिकृया दिनुहोस्