काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएपछि प्रदेशसभा पनि ‘भङ्ग’ हुन सक्ने आशंका र सम्भावनामाथि चर्चा सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विभाजनको हलचलले प्रदेशसभा विघटनको आशंका र सम्भावनालाई सतहमा ल्याएको हो । केन्द्रमा नेकपा राजनीतिक रुपमा दुई पक्षमा विभाजित भएको छ । केपी ओली र प्रचण्ड–माधव पक्षमा नेकपा विभाजित अवस्थामा पुगेपछि नेकपाकै नेतृत्वमा रहेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा देखिन्छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचण्ड–माधव पक्षका मुख्यमन्त्री छन्, जोसँग स्पष्ट बहुमत पनि देखिएको छ । ओली पक्षीय मुख्यमन्त्री रहेका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकार भने अल्पमतमा परेको देखिन्छ ।
प्रतिनिधिसभा विघटनसँगै नेकपा औपचारिक फुटको सँघारमा पुग्दा ओली पक्षका मुख्यमन्त्री रहेका दुईवटा प्रदेशमा प्रचण्ड–माधव खेमाका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेको अवस्था छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले माघको पहिलो साता अविश्वास प्रस्तावको सामना गर्नेछन् ।