अनि कांग्रेस सडकतर्फ मोडियो

संसद् पनि पुनर्स्थापना नहुने र वैशाखमा निर्वाचन पनि नहुने डरले कांग्रेस आन्दोलनमा

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भन्छन्– देशमा संसद् पनि पुनर्स्थापना नहुने, निर्वाचन पनि नहुने जोखिम छ । देश अन्धकारमा जान सक्छ भन्ने बुझेर सभापतिजीले नै संघर्षमा जाने निर्णय गराउनुभएको हो । अब, यसमा शंका र दोधारमा हुनुपर्ने कारण नै छैन ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि तत्काल राजनीतिक व्याख्या गरे पनि आन्दोलन वा चुनावी तयारीमा जाने भन्नेमा अलमलमा रहेको कांग्रेस अन्ततः आन्दोलनकै बाटोतिर लागेको छ । पार्टीभित्रको दबाब र वैशाखमा प्रधानमन्त्रीले निर्वाचन गर्छन् भन्नेमा अविश्वास बढेकोले सभापति शेरबहादुर देउवाले कांग्रेसलाई आन्दोलनतर्फ मोडेका छन् । 

दोस्रो चरणको आन्दोलनका रूपमा कांग्रेसले केन्द्रदेखि वडासम्मका कार्यक्रम घोषणा गरेको छ । कांग्रेसले २५ पुसमा तीन सय ३० वटै प्रदेश निर्वाचन क्षेत्र, ३ माघमा सात सय ५३ वटै पालिका र ८ माघमा ६ हजार सात सय ४३ वटै वडामा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

अहिले सरकार अलोकप्रिय भएको र सत्तारुढ दल नेकपा पनि विभाजन भएको वेला चुनावमा जानु उत्तम हो भन्ने सभापतिको बुझाइ थियो । ‘अझ चुनावमा जाँदा महाधिवेशन पनि टार्न सकिने र भोलि सरकारमा भएपछि महाधिवेशनलाई पनि प्रभावित गर्न सकिनेमा सभापति विश्वस्त हुनुहुन्थ्यो,’ कांग्रेसका एक प्रभावशाली नेताले नयाँ पत्रिकासँग भने, ‘तर, यो सरकारले वैशाखमा चुनाव गर्ने सम्भावना कम छ । चुनाव नभए त देश अन्धकारमा जान्छ । त्यसैले कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा लागेको हो ।’

प्रकाशित मिति: : 2021-01-06 10:09:00

प्रतिकृया दिनुहोस्