घातक रुपमा संक्रमण फैलाउने नयाँ रुपको कोरोनाभाइरसको संक्रमण नेपालमा छ कि छैन ?

रातोपाटी

काठमाडौँ

माया श्रेष्ठ

काठमाडौंं भाइरस म्युटेसन भएर नयाँ रुप ग्रहण गर्नु विज्ञानको दृष्टिले साधारण कुरा हो । त्यही अनुसार, विश्वभरि हाहाकार मच्चाइरहेको कोरोनाभाइरसमा म्युटेसन भएर बेलायतमा कोरोनाभाइरसको नयाँ स्वरुप देखापर्यो । बेलायतमा देखापरेको नयाँ रुपको भाइरस चाहिँ यसको माउ भाइरसभन्दा अत्यधिक धेरै छिटो संक्रमण हुने (५० देखि ७० प्रतिशत बढी) खालको भएपछि विश्वमा नयाँ चिन्ता र चासो देखापर्यो । यो भाइरसको प्रसारप्रसारलाई नियन्त्रण र रोकथाम गर्न विश्वका थुप्रै मुलुकहरुले बेलायत यात्रामा प्रतिबन्ध लगाए । तर त्यसले उक्त नयाँ रुपको भाइरसको प्रसारप्रसार रोकिएन । हाल विश्वका १३ भन्दा बढी मुलुकहरुमा उक्त भाइरसको संक्रमण फैलिइरहेको छ ।

उक्त नयाँ स्वरुपको भाइरसविरुद्ध प्रतिरक्षात्मक कदम चाल्दै  नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बेलायतबाट स्वदेश आएकालाई अनिवार्य क्वारेन्टिन बस्न सूचना जारी ग¥यो । बेलायतबाट आएका व्यक्तिहरुलाई निःशुल्क कोरोना परीक्षण गर्ने व्यवस्था समेत मिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । तर, भारतमा पनि नयाँ स्वरुप भाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा पनि स्वभाविक रुपमा जोखिम बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाका पूर्व, प्रमुख डाक्टर बाबुराम मरासिनी उक्त नयाँ रुपको भाइरसबाट संक्रमित भएका व्यक्ति नेपालमा पनि हुन सक्ने  आशंका जताउँछन् ।

बेलायतबाट नेपाल फर्किएकालाई कोरोना भाइरस पुष्टि भएपनि नयाँ स्वरुपको भाइरस हो वा होइन भनेर पत्ता लगाउन सरकारले तदारुकता देखाएको छैन । उक्त नयाँ स्वरुपको भाइरस संक्रमण देखापरेको विभिन्न सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेलाई अन्य मुलुकहरुबाट हवाईमार्ग हुँदै आउनेहरुलाई झैँ कडाइ नगरिएकाले नेपालमा कोरोनाभाइरस नयाँ स्वरुपको संक्रमण झन् तिव्र गतिमा फैलिने खतरा बढेको भन्दै जनस्वास्थ्यविदहरुले चिन्ता  व्यक्त गरेका छन् । 

प्रकाशित मिति: : 2021-01-05 13:44:00

प्रतिकृया दिनुहोस्