केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चरीबाघको छाला (आखेटोपहार) सहित एकजनालाई पक्राउ गरेको छ।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले काठमाडौंको टोखा नगरपालिका-७ धापासीबाट दुई थान चरीबाघको छालासहित आइतबार नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिन नगरपालिका-८ का ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेका छन्।
नियन्त्रणमा लिएका सुनुवारलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंको जिम्मा लगाइएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।