नेकपा फुटमा चिनियाँ चिन्ता

रमेश घिमिरे

नेकपा गम्भीर फुटको दिशातिर जाँदै गर्दा उत्तरी छिमेकी चीन चिन्तित भएको छ । र, राष्ट्रपति सिको सोझो निर्देशनमा पिपिइ लगाएरै नेकपाको उद्धारका लागि छापामार शैलीमा आएको चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय उच्चस्तरीय टोली काठमाडौँमा सघन राजनीतिक भेटघाट मात्रमा सीमित रही आफ्नो उद्देश्यमा सफल हुन नसकी स्वदेश फर्किएको छ । उक्त राजनीतिक टोलीको उद्देश्य नेकपालाई फुटबाट जोगाउनु थियो ।  

नेकपा एक हुँदा चीनले नेपाललाई हेर्ने दृष्टिकोण र अहिले पार्टी फुटको संघारमा हेर्ने दृष्टिकोणमा व्यापक फेरबदल भएको देखियो । किनभने एक महिनाअघि चिनियाँ रक्षामन्त्री वेइ फेङ हेले नेपाल सरकारको पूर्ण आतिथ्यता ग्रहण गरेका थिए भने अहिले राष्ट्रपति सिको विशेष सन्देश बोकेर आएका येचौले नेपाल सरकारको आतिथ्य स्वीकार गर्नु त परको कुरा उनको दल विशेष विमानबाट पिपिइ लगाएरै बाहिर निस्क्यो र चिनियाँ दूतावासकै मोटर प्रयोग गरेर दूतावास गयो अनि चार दिन चिनियाँ दूतावासमै बसेर सम्पूर्ण भेटघाट ग¥यो । नेपाल सरकारलाई कहीँकतै दृश्यमा आउन दिएन । यो हाम्रा लागि अत्यन्त लाजमर्दो र गम्भीर कुरा हो । नेपालले दुवै छिमेकीसँग सौहार्द्र र आपसी विश्वासको सम्बन्ध राख्नुपर्छ । तर यसो भन्दै गर्दा चीन सरकारले जुनस्तरमा अन्तरपार्टी सम्बन्धलाई प्राथमिकतामा राखेको छ त्यही अनुपातमा दुई देशका जनता–जनताबीचको सम्बन्ध बढाउन खासै ध्यान दिएको देखिँदैन । जस्तै– अहिले पनि चीनले अन्तर्राष्ट्रिय सीमा भनी तोकेको रसुवागढीमा चीनतर्फ नेपाली व्यापारीका अरबौँको सामान नेपाल आउन नपाएर त्यतै थन्किएको छ । यही स्थिति सबभन्दा पुरानो तातोपानी नेपाल–चीन सीमाको पनि छ ।  

यस स्थितिमा व्यापारी लामो समय लगाएर कोलकोता बन्दरगाहबाटै चिनियाँ सामान ल्याउन बाध्य छन् । कोलकोताबाट ल्याउँदा भारतीय अर्थव्यवस्थालाई नै सघाउ पुग्ने हुँदा कतै चीनले भारतलाई नै सहयोग पु¥याइरहेको त छैन भनी शंका गर्ने ठाउँ छ । यस्तै नेपालले चिनियाँ नागरिकलाई निःशुल्क भिसा प्रदान गर्छ भने नेपाली नागरिकले चीन जाँदा भिसाबापत ठूलो रकम तिर्नुपर्छ । र, नेपाली नागरिकलाई चीन जाँदा अनेक झन्झट छ । जस्तै– परम्परादेखि चलिआएको नागरिकता देखाएर हाम्रो तीर्थ कैलाश मानसरोवर जान पाउने परम्परामा अवरोध गरिएको छ । त्यसकारण अन्तरपार्टी सम्बन्ध मात्र राम्रो भएर हुँदैन । त्यसैले छिमेकी चीनले दुई छिमेकका जनस्तरको सम्बन्ध गाढा बनाउन पनि विशेष ध्यान दिनुपर्छ ।

प्रकाशित मिति: : 2021-01-04 11:46:00

प्रतिकृया दिनुहोस्