सावधान! के अमेरिकामा ज्वाइँ र बुहारीको खोजी गरिरहनु भएको छ?

आफ्नो सन्तानको उज्वल भविष्यका नाममा यदी तपाईं छोरा वा छोरीको लागि अमेरिकामा भावी ज्वाइँ वा बुहारी खोज्दै हुनुहुन्छ भने सावधान रहनुहोला। पाइनैसक्नु भएको छ भने पनि एकपल्ट पुनर्विचार गर्नु वेस होला। 

विवाह जस्तो पवित्र तथा जिन्दगी सँगै बिताउने कुरामा हिजोआज निकै धोका, बेईमानी र ठगी हुन थालेको छ। जसको कल्पना तपाईहरु गर्नसक्नु हुन्न। अमेरिकामा विवाहको नाममा यतिसम्म घटिया व्यवहार गर्ने र हुने गरेको छ, कुनै–कुनै घटना त विश्वास गर्न पनि गाह्रो पर्ने गर्छ।

मैले यी कुरा गरिरहँदा यसको अर्थ यो पनि नलागोस् कि अमेरिकामा विवाह गर्ने सबै बेईमान हुन् र उनीहरु झुटो बोलिरहेका छन्। तर म यति भन्न चाहन्छु, जसले विवाह जस्तो नितान्त पवित्र कुरालाई बदनाम गराइरहेको छन्, उनीहरु सच्चिनै पर्छ। जो यस्ता गतिविधिमा लिप्त छैनन्, उनीहरु डराउनुको कुनै कारण छैन। 

अमेरिकामा कागज अर्थात ग्रीन कार्डको लागि अनमेल विवाह गर्ने, पैसा तिरेर कागजी प्रक्रिया पुरा गर्ने घटना पुरानै हो। यसले मानिसलाई खासै उद्धेलित तुल्याउँदैन। किनभने वाध्यतावस् कागजको लागि विवाह गरेका धेरैले पछि मन मिलेर विवाह गरेको घटना पनि धेरै छ। 
तर यतिबेला कागज नभएका आप्रबासीसँग नक्कली विवाह गरेर त्यसबाट आर्थिक लाभ लिने एउटा ठूलो जमात अमेरिकामा तयार भएको छ। यसलाई बुझिने भाषामा भन्नु पर्दा मानिसलाई फसाएर पैसा कमाउने व्यापारको संस्कार बन्दै गइरहेको छ यहाँ। 

यस्तो घटिया व्यापारमा केहि नेपाली पनि संलग्न छन्। कानुनी रुपमा पारपाचुके गर्ने तर श्रीमान–श्रीमतीको हैसियतमा एउटै घरमा बस्ने तर व्यापार गर्ने उद्धेश्यले अरुसँग कागजी विवाह गरेर धनाढ्य भएका केहि नेपालीमुलका अमेरिकी पनि छन्। 

यतिसम्म तल्लोस्तरको काम कतिको जायज हो? प्रबुद्ध पाठकबर्गलाई यसको मुल्यांकन गर्ने जिम्मा दिन चाहन्छु। 
यसबाहेक पनि पढाईको बारेमा झुटो बोल्नेहरुको जमात नै छ अमेरिकामा। मेरो छोरा वा छोरी फलानोढिस्कानो बिषयमा अध्ययन गर्दैछ भनेर धक्कु दिने अविभावकलाई उनको छोरा–छोरी कुन बिश्वविधालयमा, कुन स्तरको र कुन फ्याकल्टीमा पढ्दैछन् भनेर सोधिएको खण्डमा ‘दुधका दुध, पानीका पानी’ छर्लङ हुनेछ।  

यी धेरै सामान्य कुरा हुन्। यस्तो विषयमा बिश्वविधालयबाट सहजै जानकारी प्राप्त गर्न सकिन्छ। बिश्वविधालयलाई इमेल अथवा अन्य माध्यममार्फत सोधेको खण्डमा पनि उनीहरु कहाँ र कुन संस्थामा पढ्दैछन्, त्यसको जानकारी तुरुन्त लगाउन सकिन्छ।

 नेपालबाट डाक्टरी वा इन्जिनियरिङ पुरा गरेर यहाँ आएकाहरुले पनि त्यतिकै डाक्टर वा इन्जिनियरको काम गर्न पाउँदैनन्। यसका लागि लामो र कठिन बाटो अपनाउनु पर्छ। नेपालमा जस्तै यहाँ सम्मानित काम गर्न उनीहरुलाई पैसा, क्षमता र भाग्य सबै चाहिन्छ, त्यसै हुदैन। 

नेपालबाट डाक्टरी गर्नेहरुले ट्याक्सी चलाएको र इन्जिनियरहरुले ग्याँस स्टेसन (पेट्रोल पम्प) र पसलमा क्यासियरको काम गरेको पंक्तिकारले धेरै देखेको छ।

नेपालमा चलेको एउटा अधिवक्तालाई पंक्तिकारले न्युयोर्कको जुत्ता पसलमा सहायकको काम गर्दै गरेको अवस्थामा भेटेको पनि हो। तर उसले अमेरिकाको ठेगाना हालेर भिजिटिङ्ग कार्ड बनाएको देखेर म आफै चकित परेको छु। 

अमेरिकामा कसैले म पीएचडी गर्दैछु भन्छ भने उसको एउटा इमेल आइडीको अन्तिममा इडीयु भएको हुनैपर्छ। यदी छैन भने त्यो झुट बाहेक केही होइन। 

यसैगरी कुन बिश्वविधालयबाट कसले कुन बिषयमा पीएचडी गर्दैछ, त्यो सजिलै पत्ता लगाउन सकिन्छ। यस बारेमा जानकारी नभएको खण्डमा कुनै जानकारसँग सहयोग लिन सकिन्छ।

नेपालीहरुले अर्को झुट बोल्ने भनेको कामको बिषयलाई लिएर हो। अमेरिकामा बसोबास गर्ने प्राय: नेपालीले नेपालमा आफ्नो कामको विषयमा भन्ने गर्छन्, ‘एउटा ठूलो कम्पनीमा म्यानेजर छुँ’। 

यस्तो भन्ने नेपालीको बायोडेटा सहजै पत्ता लगाउन सकिन्छ। उसले जुन कम्पनीमा काम गर्छु भन्छ त्यस कम्पनीको वेभ साइटमा उसको सम्पूर्ण जानकारी हुन्छ। यदी कोही नेपालीले भारतीयको पसल, ग्याँस स्टेसन वा रेस्टुरेन्टमा काम गरेर म म्यानेजर हुँ भन्छ भने त्यसको हैसियत एउटा ‘हेड पिउन’ बाहेक अरु केही होइन।  

अमेरिकाभित्र ५० देखी ८० डलरसम्म ग्रे मार्केट (चोर बजार) मा किन्न पाइने र बङ्गलादेशबाट आयात हुने नक्कली ग्रीन कार्ड देखाएर विवाह गर्नेहरुको सङ्ख्या पनि बिस्तार हुँदै गइरहेको छ। 

पंक्तिकारले यस्तो बेइमानी पुरुष पक्षबाट मात्र भएको देखेको छ। नेपालमा आफ्नो सामाजिक हैसियत बचाउन आफ्नो छोरा वा छोरीको विवाह छिनोफानो गर्ने तर अमेरिका आएपछि त्यो ब्यक्तिलाई अलपत्र पारेर छोड्ने पनि प्रसस्तै छन्। अब भन्नुस् विवाह जस्तो पवित्रसम्बन्धमा यो प्रकारको धोका दिनेलाई पाप लाग्छ कि लाग्दैन?

मैले यो आलेख तयार पार्नुको उद्धेश्य कसैलाई तर्साउन नभएर सचेत गराउन हो। जसले कुनै प्रकारको झुट बोलेका छैनन्, त्यसले डर वा त्रास नलिए पनि भयो। तर जसले जानीनजानी प्रलोभनमा परेर यस्ता काम गरेका छन् भने उनीहरु पनि सच्चिनुपर्छ। 
 

प्रकाशित मिति: : 2021-01-03 09:42:00

प्रतिकृया दिनुहोस्