म कुनै राजनीतिक कार्यकर्ता होइन। एउटा सामान्य जनता मात्र हुँ, जसले देश बनोस् भन्ने कामना गर्दछ।
मेरो एक मतले एउटा कर्मठ, सच्चरित्रवान व्यक्तित्व, जसले आफ्नो सारा जीवन जनताको लागि सुम्पियोस्। यस्तो प्रतिनिधिको खोजीमा सहरदेखि धुलैधुलोको पहाडी भिरे बाटोमा अटेसमटेस गरेर टनाटन यात्रु कोचिएको थोत्रो गाडीको यात्रा र घण्टौं पैदल हिँडेर मतदान केन्द्रसम्म पुग्ने गदृछु।
म त्यहि सुशासन र समुन्नत देशको परिकल्पनामा डुब्ने नागरिक पनि हुँ। तर अहिले देश पाइडल बिनाको डुङ्गाका बीच नदिमा डगमगाउँदै गरेको तथा आशा र भरोसाको चित्कार सुन्न नसकेर थला परेको छ।
राजनीतिक पृष्ठभुमिको छायाँसँग दूरदराजसम्म पनि कुनै सम्बन्ध नभएको एक देशप्रेमी जनता बन्दा भोलि जागिरको लागि कसको सिफारिस लिएर जाने,भाईबहिनालाई प्रहरीसेनामा कसरी घुसाउने भन्ने डर देखिनु बिडम्बनाको कुरा हो।
कयौं सपुतको रगतले लतपतिएको नेपाल आमाको करुणाभन्दा पार्टी र संगठनलाई माथि राखेर दलीय र व्यक्तिगत स्वार्थका लागि पक्ष–बिपक्षमा उर्लनु देश र जन वलिदानप्रति सरासर गद्दारी हो।
यहाँ अब सार्वभौमसत्ता संसद विघटन गरेर न देशले मुहार फेर्नेछ , न खारेज गरेर नै। ओहदामा पुगेकाहरु पद र सत्ताको लागि तछाडमछाड गर्दैछन्। नपुगेकाहरू दल र संगठनका लागि।
देश र समुदायको लागि यहाँ साच्चै नै कसैलाई चिन्ता र चासो थियो भने बिद्रोह आफ्नै दल भित्रबाट सुरु हुन्थ्यो। दबाब र खबरदारी पनि आफ्नै पक्षका नेता र कार्यकर्ताबाट।
कसिङ्गर त यहाँ प्रत्येक पार्टीभित्र छन्, जसले देशलाई भित्रभित्रै दुर्गन्धित गरिरहेको छ। जबसम्म पार्टी भित्रबाट आवाज उठ्दैन, तबसम्म सुशासनको परिकल्पना नगरे हुन्छ।
हो, यो संबिधान र संसद कसैको बाउको पेवा होइन, जतिखेर मन लाग्यो विघटन, जतिखेर मन लाग्यो संगठन गर्ने।
ओली सरकार जिन्दावाद भन्नेहरु साच्चै देशप्रति अलिकति सहानुभूति छ भने यो प्रतिगमन र असंवैधानिक कदमको प्रतिबाद गरेर हेर।
यो कुनै किसानले मल नपाएर गरिएको विघटन होइन, न कुनै विदेशी भूमिमा पानी नपाएर छट्पटाइरहेकाले गरेको विघटन हो।
यो त सत्ता र पदको लालचले भएको विघटन हो। एकातिर जनताको आँखामा धुँलो उडाउने काम हो भने अर्कोतर्फ यस बिषम परिस्थितिमा फाइदा कसरी लिने भनेर अर्को दलले गरिरहेको चलखेल हो।
यहाँ देशले केही पाउने होइन। पार्टीले के पाउने? संगठनले के पाउने? अनि आफू कुन पदमा पुग्ने? आफ्नालाई कसरी सिफारिस दिलाउने? यस्तै यस्तै धेयले आन्दोलनमा होमिदैछन् जनता पनि।
किन जनविरोध? किन नाराजुलुस?किन मतभेद? भन्दा पनि यहाँ धेरैलाई कसको आन्दोलन, कुन पार्टीको पक्षमा आन्दोलन मतलब छ, चाहे त्यो जायज होस् या नाजायज।
जनतामा भएको भेडापनको कमजोरीबाट फाइदा लिँदैछन् सत्ता र ओहदामा बसेका माहिर राजनीतीज्ञ फेरि पनि। जनताको जनवाद, बहुदलीय जनवाद, नयाँ जनवाद, यस्ता क्रान्तिका रणनीतिक लक्ष्यहरुले मात्र देश समाजवादतिर लम्किदैन।
यसका लागि पार्टीको कार्यदिशा, नीति र सिद्धान्त अनुरुप विश्लेषण र प्रशिक्षणतिर जनआवाज उठ्नु पर्ने थियो। तर विडम्बना अनेक गुटबन्दी,अराजकताको अभ्यास हुदैछ। धराशायी हुँदै गरेको यस मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता अब धुजाधुजा भएर पतन भएको हेर्ने र कुरेर बस्ने बाहेक म नेपालीको अर्को कुनै विकल्प छैन।