जनअधिकारको रक्षा नै मेलमिलाप नीतिको सान्दर्भिकता: देउवा

बिएल संवाददाता

काठमाडाै‌ं

कांग्रेस सभापति शेरबहादुर देउवाले जनअधिकारको रक्षा नै मेलमिलाप नीतिको सान्दर्भिकता रहेको बताएका छन्। 

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा उनले भने,‘विभिन्न समुदाय र हिमाल, पहाड र तराईबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान हो।’

उनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संवर्धन नै अहिलेको अभिभारा रहेको भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको बताए। 

‘प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं,’ उनले भने, ‘जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता हो ।’

 यस्तै उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णय पर्खिरहेको पनि बताएका छन्।

 ‘अदालतको निर्णय आएपछि मात्रै कांग्रेस कसरी अगाडि बढ्छ भन्ने तय हुनेछ,’ उनल भने, ‘आन्दोलनको नाममा अदालतलाई धम्क्याएर वा तर्साएर प्रभावित पार्न हुँदैन।’

देउवाले सिक्किमलाई भारतले विलय गरेपछि बिपी कोइराला नेपालको हालत चाहिँ के होला भन्दै डराएर राष्ट्रिय मेलमिलापको नीति लिएर आएको बताए।

बीपी कोइरालाले लिएको मेलमिलापको नीतिकै जगमा ०४६ सालको परिवर्तन सम्भव भएको उनले बताए।

‘उक्त नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोजेको हो। तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लिएको हो,’ देउवाले भने।

यता मेलमिलाप नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको पनि देउवाको भनाइ थियो ।

प्रकाशित मिति: : 2020-12-31 13:45:00

प्रतिकृया दिनुहोस्