मल्लकालसम्म उपत्यकाबासीहरू प्रायः सेनामा जाँदैनथे। त्यसैले त्यतिबेला सेनामा दक्षिण भारतको तेलंगनादेखिका मानिसलाई भर्ना गरिन्थ्यो । सिपाहीलाई तिलंगा भन्ने चलन थियो। मल्ल शासकहरुले मुसलमानहरूलाई पनि सेनामा भर्ना गर्ने गरेका थिए। अफगानहरु पछिसम्म पनि नेपाली सेनामा भर्ना हुन दरखास्त दिन्थे।
सन् १८१४–१८१६ को बेलायत–नेपाल युद्धको आसपासमा विदेशी शक्तिका लागि लड्ने चलन थालियो। नालापानी किल्लाको नेतृत्व गर्ने बलभद्र कुँवर दर्जनौ लडाकू लिएर पञ्जाबका महाराजा रणजित सिंहको फौजमा भर्ना भए। हालको पाकिस्तानको पेशावर शहर नजिक नौशेरामा पठानसँगको लडाइँमा बलभद्र मारिए।
काठमाडौं दरबारलाई पराजित गर्ने क्रममा पश्चिम मोर्चाका लडाकू जम्मा गरेर बेलायतीले ‘नसिरी पल्टन’ नाम दिएर पहिलो ‘ब्रिटिश गोरखा’ फौज खडा गरे। गोर्खालीहरूले संसारका विभिन्न ठाउँमा लड्ने क्रम यही बेला शुरु भयो।