कांग्रेसलाई सरकारमा जान हतार छैन: बालकृष्ण खाँण

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले कांग्रेसलाई सरकारमा जान हताराे नभएको बताएका छन्। मंगलबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेसले अहिले सरकारका लागि दाबी नगरेको स्पष्ट पारे।

उनले भने, ‘तत्काल सरकारमा जान हतार छैन। तर काँग्रेसबिना सरकार बन्दै बन्दैन भनेचाहिँ जानुपर्छ। अहिले नै यही हुन्छ भनेर सबै भन्न सकिँदैन तर जुन परिस्थिति आउँछ, त्यही अनुसार चल्नुपर्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेको आरोपसमेत लगाए। प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लाद्न खोजेको उनको भनाइ थियो।

खाँणले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई राष्ट्रपतिले विचारै नगरी स्वीकृत गर्नुले सर्वसत्तावाद हावी भएको बताए।

 ‘मिडिया विधेयक, मानव अधिकार विधेयक, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग आफ्नो सिधै नियन्त्रणमा राख्ने कामले नै प्रधानमन्त्रीको उद्देश्य प्रस्ट देखिएको छ,’ उनले भने।

प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिकोमा लैजानु र विचारै नगरी राष्ट्रपतिबाट स्वीकृत हुनु असंवैधानिक कदम भएको बताए।

उनलेविघटनको विषय अदालतमा गइसकेकाले कांग्रेस फैसलाको पर्खाइमा रहेको बताए।

‘प्रधानमन्त्रीले सुरुदेखि नै संविधानको बर्खिलाप काम गर्दै आउनुभएको छ,’ उनले भने, ‘प्रेस, मानवअधिकार र राष्ट्रिय सुरक्षा परिषद्मा हस्तक्षेप प्रधानमन्त्रीबाटै भएको हो।’ 

नेता खाणले एकदलीय सर्वसत्तावाद ल्याउने र सरकारले गरेका ठूला भ्रष्टाचार लुकाउन संसद् विघटन गरिएको आरोप लगाए। 

‘संसद्मा उठ्ने भ्रष्टाचारका मुद्दामा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद विघटन गरिएको हो,’ उनले भने।

उनले आगामी वैशाखमा गर्ने भनिएको मध्यावधि निर्वाचन असम्भव भएको भन्दै उनले सरकार आफैं निर्वाचन गराउने पक्षमा नरहेको बताए।

प्रकाशित मिति: : 2020-12-29 13:14:00

प्रतिकृया दिनुहोस्