सम्झना घिमिरे
तराईवासीमा अधिकांशको जिब्रोमा बसेको हुन्छ बेथेको साग, माछाको चोखा अनि बगिया ।
चिसो मौसममा कुहिरोसँग लुकामारी खेल्दै तात्तातो बगिया र चोखा खानुको मजा नै बेग्लै हुन्छ। शीतमा लपक्कै भिज्दै हटिया (बजार)छेउ पकाइराखेको तातो आलुचप, पकौडा अनि बगियाले शरीर नै तताउँछ ।
अब मैथिलीको स्वाद मेट्न तराई पुग्नै पर्दैन । ललितपुरको भैँसैपाटीमा पुग्नुभाे भने पूरै तराई पुगेझै स्वाद पाउनुहुनेछ ।
मैथिलीको अर्थ के हो ? संस्कृति के हो ? मैथिली खाना कस्तो होला ? मैथिली कपडा पनि छ र ? यी सबै प्रश्नकाे जवाफ पाइन्छ यहाँ ।
१० वर्षअघि बेहुली बनेर मैथिली परिवारमा भित्रिएकी अमृता राईको पहिलो रहर नै मैथिली खानेकुरा खाने थियाे। तर, तराइमै पुगेर मैथिली परिकार खान पाएकी थिइनन् ।
धनुषा जिल्लालाई मिथिलाको केन्द्र बिन्दु मानिन्छ । तर, त्यस क्षेत्रमा उनले न मिथिला खानेकुरा पाइन्, न मैथिली संस्कृति नै देखिन् । यो सबैले उनी अचम्मित भइन् ।
उनी भन्छिन्, ‘अहो ! मिथिला क्षेत्रमा खोइ त मिथिला संस्कृति ? कहाँ चाख्ने मैले मैथिली परिकार ? दिनभर डुल्दा पनि मैथिली परिकार पाउने होटल पाइनँ ।’