२१ वर्षपछि फेडरर अस्ट्रेलियन ओपनमा अनुपस्थित

विश्व नम्बर ५ टेनिस खेलाडी २१ वर्षमा पहिलो पल्ट अस्ट्रेलियन ओपनमा अनुपस्थित हुन लागेका छन्।

घुँडाको दुई पल्ट सल्यक्रिया गरेका फेडररले सन् २००० मा अस्ट्रेलियन ओपनमा डेब्यु गरेका थिए। 

उनी वर्षको पहिलो ग्रान्ड स्लाममा अनुपस्थित हुन लागेको जानकारी दिँदै उनका एजेन्ट टोनी गोडसिकले भने, ‘उनलाई स्वास्थ्य लाभ गर्न धेरै समय लागिरहेको छ।’

प्रशिक्षक सेभेरिन लुथी र इभान ल्युबिकिक तथा फिटनेस प्रशिक्षक पियरे पगनिनीसँग लामो चर्चा गरेपछि ८ फेब्रुअरीदेखि सुरु हुने प्रतियोगितामा उनी अनुपस्थित हुन लागेको गोडसिकले बताए। 

२० पल्ट ग्रान्ड स्लाम जितिसकेका फेडरर हाल युएईमा बसेर अभ्यास गरिरहेका छन्। गोडसिकले टोकियो ओलम्पिकमा उनी फर्किने आशा व्यक्त गरेका छन्। 

३९ वर्षीय फेडररले विगत एक वर्षदेखि कुनै खेल खेलेका छैनन्। उनले अन्तिम खेल अस्ट्रेलियन ओपनअन्तर्गत सेमिफाइनलमा जोभाक जोकोविचसँग मेलबर्न पार्कमा खेलेका थिए। 

हालै स्विस सरकारले सन् १९५० यता उनलाई देशकै उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको थियो। 

अस्ट्रेलियन ओपन सर्वियाका नोभाकले सबैभन्दा बढी ८ पल्ट जितेका छन्। यसपछि फेडरर र अस्ट्रेलियाका रोय इमरसनले ६–६ पल्ट जितेका थिए।

प्रकाशित मिति: : 2020-12-29 11:22:00

प्रतिकृया दिनुहोस्