ठमेलको दोकानबाट यसरी जन्मियो विश्वस्तरीय ‘राइको ब्रान्ड’

नेपाल खबर

काठमाडौँ

सन्तोष न्यौपाने

एकताका ठमेलको ज्याठामा आउटडोर गियर बेच्ने ‘राईको दोकान’ निकै चर्चित थियो। सोलुखुम्बुका राई थरका व्यवसायीको पसल थियो त्यो, जसलाई सबैले राईको दोकान भनेर चिन्थे।

त्यही पसलमा काम गर्थे विनोदमणि राई। २०५७ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्चशिक्षा लिन काठमाडौं छिरेका विनोदमणिले त्यही पसलमा काम गर्दै स्नातकोत्तर गरे।

विनोदमणिले राईको दोकानमा जागिरमात्र गरेन्, व्यावसायिक सीप पनि हासिल गरे। जागिर खान छिरेका उनी आज राईको दोकानको ‘मालिक’मात्र भएका छैनन्, अन्तर्राष्ट्रिय स्तरको ‘राइको ब्रान्ड’ स्थापना गर्न पनि सफल भएका छन्।

अन्य चार सहपाठी साथीहरुसँग मिलेर दुईदुई लाख उठाएर सुरु गरेको ‘राइको’ ब्रान्डले आज वार्षिक ४ करोडमाथिको कारोबार गरिरहेको छ। ३५ जनालाई रोजगारी दिएको छ। त्यतिमात्र होइन, आफ्नो सामान छिट्टै युरोप र अमेरिका निर्यात गर्ने पनि उनको योजना छ।

‘त्यहाँबाट धेरै माग पनि भएको छ,’ ठमेलको छाया सेन्टरमा भेटिएका विनोदमणिले अमेरिकानो कफीको स्वाद लिँदै भने, ‘कोभिड नभएको भए अहिलेसम्म सामान अमेरिका पुगिसक्थ्यो।’

काठमाडौैं छिरेर छोटो समयमा विनोदमणिले जे गरे, त्यो तारिफयोग्य छ। पर्वतारोहण र ट्रेकिङ व्यवसायमा ‘राइको ब्रान्ड’बाट उनको टिमले नाम स्थापित गरिसकेको छ।

प्रकाशित मिति: : 2020-12-27 16:34:00

प्रतिकृया दिनुहोस्