विराटनगर चक्रपथ : काम थालिएको २२ वर्षमा ट्रयाकसमेत खुलेन

थाहा खबर

विराटनगर

 ध्रुव भट्टराई

विराटनगर बाहिरी चक्रपथको निर्माण शुरू भएको २२ वर्ष पूरा भएको छ। तर, सडक तयार हुनु त परको कुरा, अहिलेसम्म चक्रपथको कच्ची ट्रयाक निर्माण नै पूरा भएको छैन।

चक्रपथ निर्माण अलपत्र परेको छ। निर्माण शुरू भएको दुई दशक नाघिसक्दा अहिले चक्रपथका लागि छुट्याइएको जग्गामा सडक होइन, व्यक्तिगत संरचना बन्न थालेका छन्‌।

​मुलुकका अन्य ठूला आयोजना जस्तै यो चक्रपथ पनि विकासमा दुष्चक्रको घनचक्करमा फसेको छ। निर्माण क्षेत्रमा मिलेमतोका कारण हुने ढिलाइको खराब उदाहरण बनेको छ।

विराटनगर चक्रपथको कुल लम्बाइ ४२ किलोमिटर छ। तर, चक्रपथको ३७ किलोमिटर ट्रयाक खोल्ने काममात्रै सकिएको छ। ५ किलोमिटर ट्रयाक खन्न अझै बाँकी नै छ। 

चक्रपथ निर्माण बजेट अभावमा रोकिएको भने होइन। सरोकारवाला निकायको पहलकदमी नहुँदा अलपत्र परेको हो। भौतिक योजना मन्त्रालय मातहत रहनेगरी सरकारले २०५४ सालमा सुरू गरेको यो आयोजना शहरी विकासदेखि स्थानीय विकास मन्त्रालय हुँदै प्रदेश सरकार मातहत आइपुगेको छ।

चक्रपथ अन्तर्गत अहिलेसम्म कालोपत्रे भएको खण्ड पनि गुणस्तरहीन निर्माणका कारण खण्डहर बनिरहेको छ। दीर्घकालीन कार्ययोजना र विस्तृत अध्ययन अनुसन्धानबिना नै ट्रयाक खोलेर कालोपत्रे गरिएकाले सडकमा गुणस्तर कायम नभएको हो। सडक बनेको ठाउँमा पानीको निकास नहुँदा वर्षायाममा बस्ती डुबान समस्या पनि उस्तै छ।

प्रकाशित मिति: : 2020-12-24 12:32:00

प्रतिकृया दिनुहोस्