पाकिस्तानकी ‘कच्चा एजेन्ट’ करिमा क्यानडामा मृत फेला

सन् २०१६ मा  बीबीसीले तयार पारेको विश्वका ‘१०० प्रभावशाली महिला’मा समावेश भएकी करिमा बलोच मृत भेटिएकी छन्।

बलुचिस्तानका चर्चित राजनीतिक कार्यकर्ता र बलोच स्टुडेन्ट्स अर्गनाइजेसनकी पूर्वअध्यक्षसमेत रहेकी करिमाको शव क्यानडाको टोरोन्टोमा भेटिएको हो। 

प्रहरीका अनुसार उनी पछिल्लो तीन दिनदेखि हराइरहेकी थिइन्। क्यानाडामा निर्वासनमा रहेकी करिमा अन्तिमपटक गत आइतबार दिउँसो करिब ३ बजे देखिइएकी थिइन्। त्यसपछि उनी गायब भइन्। 

टोरन्टो प्रहरीले उनको तस्वीरसहित आफ्नो वेबसाइटमार्फत सूचना जारी गरेको थियो। 

पाकिस्तानले करिमालाई ‘कच्चा एजेन्ट’को रूपमा लिन्थ्यो। उनको हत्या भएको हुनसक्ने आशंका छ। करिमाका आफन्तले उनको शव प्रहरीले राखेर अनुसन्धान गरिरहेको बताएका छन्। 

जाँचपछि शव आफूहरूले जिम्मा लिने उनको परिवारको भनाइ छ।

करिमा पाकिस्तानका अत्याचारविरूद्ध आवाज उठाउने कार्यकर्ता भनेर चिनिन्छिन्। 

उनी संयुक्त राष्ट्र संघमा पाकिस्तानको उत्पीडनको कथा सुनाउने महिला थिइन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाइको रूपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय फोरममा मानवअधिकार उल्लंघनविरूद्ध आवाज उठाउनु पर्ने बताएकी थिइन्।

रक्षाबन्धनको अवसरमा उनले ट्विटरमा मोदीको अगाडि बिन्ती गरेर भनेकी थिइन्,‘ धेरै बलूच बहिनीका भाइहरू हराइरहेका छन् र उनीहरू आफ्नो भाइलाई पर्खिरहेका छन्।’

अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एमनेस्टी इन्टरनेसनलले घटनाको दोषीलाई कारबाहीको माग गरेको छ।

संस्थाले ट्विट गरेको छ, ‘सामाजिक कार्यकर्ता करिमा बलोचको मृत्यु भएको खबरले दुःखी बनाएको छ। यसको तुरुन्त प्रभावकारी अनुसन्धान गरी दोषीलाई सजाय गर्न माग गर्छौं।’

बलूचिस्तानमा विद्रोह विगत १५ बर्षदेखि तीव्र भएको छ। यहाँ सेनाले क्रूर व्यवहार गर्छ र जेलमा मान्छे कैद गर्दछ। धेरै बलूच नेताहरूको पनि हत्या गरिएको छ। 

यसअघि बलोच पत्रकार साजिद हुसेन पनि मेमा मृत अवस्थामा फेला परेका थिए। 

 बलूचिस्तान एक यस्तो प्रान्त हो जुनसँग संसाधनको अभाव छ, तर पाकिस्तानले उनीहरूको शोषण मात्र गर्दछ।

प्रकाशित मिति: : 2020-12-23 08:44:00

प्रतिकृया दिनुहोस्