ब्रेडम्यानको पहिलो डेब्युको टोपी ३ लाख ४० हजार अमेरिकी डलरमा बिक्री

अस्ट्रेलियाका महान ब्याट्सम्यान सर डोनाल्ड ब्रेडम्यानको डेब्यु टेस्टको क्याप लिलाम भएको छ। अस्ट्रेलियाका एक व्यापारीले बैगी ग्रीन टेस्ट क्याप ३ लाख ४० हजार अमेरिकी डलरमा खरिद गरेका छन्। सर ब्रेडम्यानले १९२८ मा डेब्यु गरेका थिए। 

अस्ट्रेलियाका व्यापारी तथा रोडमाइक्रो–फोन्सका संस्थापक पिटर फ्रिडम्यानले यो क्याप गरिद गरेका थिए। फ्रिडम्यानले यसै वर्ष चर्चित गायक निर्भानाका फ्रन्टम्यान कर्ट कोबिनको गितार ६ दशमलव ८ मिलियन डलरमा खरिद गरेका थिए। 

उनले ब्रेडम्यानको क्याप खरिद गरेपछि भने, ‘सर ब्रेडम्यान महान खेलाडी हुुन्। उनी क्रिकेटका साथै सबै खेलका उत्कृष्ट खेलाडी थिए। उनी अस्ट्रेलियाका महान खेलाडी हुन्। उनको क्याप किन्न पाउँदा मलाई खुसी लागेको छ।’

 ब्रेडम्यानले ३० नोभेम्बर, १९२८ मा ब्रिस्बनमा इंग्ल्याण्डविरूद्ध डेब्यु गरेका थिए। उनले दुवै इनिङमा १९ रन बनाएका थिए। डेब्यु खेलमा उनले ७ नम्बरमा ब्याटिङ गर्न गएका थिए। पहिलो इनिङमा १८ रन बनाएका ब्रेडम्यानले दोस्रो इनिङमा १ रन बनाए। 

ब्रेडम्यानले २० वर्षमा ५२ टेस्ट खेलेका थिए। उनले १९४८ मा सन्यास लिएका थिए। ब्रेडम्यानले ९९ दशमलव ९४ को औसतमा ६ हजार ९ सय ९६ रन बनाएका थिए। उनले करिअरमा २९ सतक लगाएका थिए।

प्रकाशित मिति: : 2020-12-22 16:25:00

प्रतिकृया दिनुहोस्