पार्टी एकताको ३१ महिनापछि फुटको संघारमा नेकपा, चुनाव चिन्ह हत्याउने दुवै पक्षको दाउ

लोकान्तर

काठमाडाैं

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकीकरण भइ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते औपचारिकरुपमा एकीकरण घोषणा भएको थियो ।

एकीकरणको ३१ महिनापछि देशको सबभन्दा ठूलो दल विभाजनको संघारमा पुगेको छ । पार्टी विभाजनको प्रयास लामो समयदेखि हुँदै आएपनि प्रतिनिधिसभा विघटन नै नेकपा विभाजनको कारण बन्ने देखिएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले हठाट प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष आक्रोशित बन्न पुग्यो ।  

पार्टी विभाजनको गृहकार्यस्वरुप ओली र प्रचण्ड पक्षले मंगलवारका लागि छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पार्टी विभाजनको पूर्वसंकेतस्वरुप ओली–प्रचण्ड पक्षले सोमवार सांसदहरुको समानान्तर भेला गरे । आफू पक्षीय भेलामा दुवै पक्षले अहिलेको संकट आउनुमा एक अर्कालाई दोषारोपण गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षले सोमवार बिहान आफू पक्षीय सांसदहरुको भेला आयोजना गरेका थिए । भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले प्रचण्डले पार्टीमा विग्रह ल्याएको आरोप लगाएका थिए । ओलीले पूर्व एमालेहरु एकजुट हुनुपर्ने बताएका थिए । आफू पक्षीय नेताहरुलाई उत्साहित बनाउन ओलीले आफू स्वस्थ भएको र परिस्थितीलाई सम्हाल्न तयार रहेको बताएका थिए । उनले आगामी चुनावमा पनि आफ्नै नेतृत्वमा जाने र बहुमत ल्याउने बताएका थिए । यतिमात्र होइन ओलीले नेताहरुलाई गाउँगाउँमा पुगेर माहोल बनाउन निर्देशन दिन समेत भ्याए ।
यसैगरी सोमवार दिउँसो प्रचण्ड पक्षले संसद् भवनको ल्होत्से हलमा सांसदहरुको भेला आयोजना गरेको थियो । ‘संसदीय दलको बैठक’ दावी गरिएको भेलामा प्रचण्डले ओली पक्षले पार्टी विभाजनको गृहकार्य गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति: : 2020-12-22 10:43:00

प्रतिकृया दिनुहोस्