जुम्ला विमानस्थल विस्तार हुँदै

जुम्ला विमानस्थल विस्तार हुने भएको छ। प्रदेश राजधानी सुर्खेतपछि दोस्रो ठूलो सहर जुम्लाको विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले सर्भेलगायतको कामलाई तीव्र पारी प्रक्रिया अगाडि बढाएको छ। 

चालु आर्थिक वर्षदेखि वहुवर्षीय आयोजनाको रुपमा विमानस्थल विस्तारको काम सुरु हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार जुम्ला विमानस्थल हिमाली जिल्लाकै सबैभन्दा सहज छ।

सबैभन्दा बढी चाप पनि भएको भन्दै विमानस्थल विस्तारका लागि संघीय सरकारले यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ। 

संघीय सरकारको सेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण, जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए। 

उनका अनुसार विस्तृत अध्ययनका लागि यो वर्ष १७ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ। प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थलमा ‘फायर सेड’ निर्माणको काम गत वर्षदेखि भइरहेको उनले जानकारी दिए। 

जुम्लाबाट जहाजमा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएकाले लामो समयदेखि विमानस्थल विस्तारको माग गरिएको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन्। 

‘लामो प्रयासपछि विमानस्थल विस्तारको कामले गति लिएको छ,’ उनले भनिन्, ‘अब जुम्लाबासी लगायत सबैलाई हवाइयात्रा सहज र गुणस्तरीय हुनेछ।’

जुम्ला विमानस्थलमा हाल १६ सिटे जहाज अवतरण हुने गरेका छन्। सीता, तारा र समिट एयरलाइन्सका साना जहाज चलिरहेकोमा विमानस्थल विस्तार भएपछि अन्य निजी कम्पनीका ठूला जहाज चल्ने आशा गरिएको स्थानीय मयालाल देवकोटाले बताए।

प्रकाशित मिति: : 2020-12-22 09:19:00

प्रतिकृया दिनुहोस्