तारकेश्वर नगरपालिकाले नयाँ प्रशासकीय भवन बनाउने भएको छ।
जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा बुधबार भवनको शिलान्यास गरे।
सो कार्यक्रममा जिसस प्रमुख राजवैद्यले नयाँ भवन निर्माण पछि नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहमा थप सहजता आउने विश्वासव्यक्त गरे।
नगरप्रमुख बोहराले भवन तोकिएको समय भन्दा अगाडि नै गुणस्तरीय निर्माण सम्पन्न गर्न अनुगमन गर्ने जानकारी दिए।
नगरपालिकाले आगामी ३० महिनाभित्र भवन सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको प्रक्रिया अघि बढाएको हो। यसका लागि जिसस रु १० करोड र बाँकी नगरपालिकाबाट उपलब्ध गराइने बताइएको छ।
भवन चार तले अपाङ्गमैत्री हुनेछ। सबै विषयगत शाखा र नगरको प्रशासन सञ्चालनका लागि सभा हल समेत हुनेछन्। हाल प्रयोग भएको भवन साविकको गाविस भवन हो। गाविसको साँघुरो भवनबाट सेवा प्रवाहमा समस्या हुँदै आएको छ। नगरपालिको आफ्नै सभाहल छैन। यसका कारण नगरपालिकाले गर्ने सभा र अन्य कार्यक्रम निजी होटलमा हुने गर्दछन्। रासस