सभापति देउवासँग उद्योग वाणिज्य महासङ्घका पदाधिकारीको भेट

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले आज भेट गरेका छन्। 
 
महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घई र कोषाध्यक्ष सुकुन्तलाल हीराचन सम्मिलित प्रतिनिधिमण्डलले भेटवार्तामा नयाँ नेतृत्वले कोभिड–१९ सङ्कटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशलमाथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएका थिए। 
 
अध्यक्ष गोल्छाले सरोकारवाला निकाय एवं विज्ञहरूको समेत व्यापक सल्लाह, परामर्शमा रिसर्च र तथ्यमा आधारित भिजन पेपर तयार गरी सरकार तथा राजनीतिक दलहरूमा पेश गर्ने कार्यक्रम रहेको बताएका थिए।

साथै उनले निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनःरुत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको समेत बताएका थिए। 
 
सो अवसरमा सभापति देउवाले महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ समूह सफल हुने विश्वास व्यक्त गरेका थिए। 

 आजै उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेट गरेको महासङ्घले जनाएको छ। 

सो अवसरमा नेता नेपालले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने र आउँदा दिनमा पनि निरन्तर संवाद र सहकार्यमा रहने विश्वास दिलाएका थिए। रासस 

प्रकाशित मिति: : 2020-12-16 19:45:00

प्रतिकृया दिनुहोस्