५० हजार मेट्रिक टन मल खरीद गर्न नेपाली टोली भाेलि बंगलादेश जाने

बिएल संवाददाता

काठमाडाै‌ं

५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बंगलादेश जाने भएको छ  । 

नेपाल र बंगलादेशका सरकार–सरकारबीच (जिटुजी)मार्फत मल खरीदका लागि समझदारी गर्न नेपाली टोली मंगलबार जाने भएको हो ।

सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा दोहोर खचसँगै झन्झटिलो भएको र बंगलादेश सरकारले समेत खरीद गरेर लैजान प्रस्ताव गरेपछि पुनः खरीद गरेर ल्याउन लागिएको हो । 

सरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीका संयोजकत्वमा चार सदस्यीय टोली बंगलादेश जाने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार उक्त टोलीमा मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कम्पनीका खरीद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेल र  मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी रहनेछन्।

टोलीले बंगलादेश सरकारलाई मल खरीदको प्रस्ताव बुधबार पेश गरेर सम्झौता गर्ने छ ।

खरीदको अन्तिम मूल्य बंगलादेशमा गएर सम्झौता गरेपछि मात्र थाहा हुने तर प्रतिमेट्रिक टन १४ डलरसम्म सस्तो पर्ने कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिए । 

 ‘अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर रासायनिक मल खरीद गरिएको भन्दा सस्तोमा मल नेपाल आउने अनुमान गरिएको छ। मल विवादरहित रुपमा सरकारी मूल्यमा  खरीद गरेर ल्याइने छ,’ उनले भने।

यसअघि नै कम्पनीले बंगलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि कम्पनी छनोट गरिसकेको छ ।

 ढुवानीका लागि कम्पनीले गत असोज ३ गते आह्वान गरेको अन्तरराष्ट्रिय बोलपत्रअनुसार संयुक्त अरब इमिरेट्स (युएई)को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ । पाँच कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो । 

कृषि सामग्री कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुन सक्ने अनुमान गरिएको कम्पनीका अधिकारी बताउँछन् ।

 गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो । बंगलादेश सरकारले शुरुआती चरणमा सापटीमा दिने तयारी गरे तापनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो । 

प्रकाशित मिति: : 2020-12-14 18:35:00

प्रतिकृया दिनुहोस्