अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ३ लाख नाघ्यो

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ३ लाख नाघेको छ। देशको थुप्रै राज्यमा फाइजरको खोप पु¥याउने कामले तिब्रता पाइरहेको बेला यहाँ कोरोना संक्रमणबाट मर्नेको संख्या तीन लाख ६ हजार पुगेको हो।  

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यो कामका लागि गुस्टाभे पेरनालाई जिम्मेवारी सुम्पिएको छ। फाइजरको खोप सोमबारसम्म १ सय ४५ स्थान, मंगलबार ४ सय २५ स्थान र बुधबार ६६ स्थानमा पुगिसक्ने छ। अमेरिकी सरकारले फाइजरको खोपलाई ११ डिसेम्बरमा इमर्जेन्सी प्रयोगका लागि स्विकृति प्रदान गरेको थियो। 

अमेरिकामा बढ्दो कोरोना संक्रमणका कारण क्यालिफोर्नियामा अस्पतालको बेड अपुग हुन थालेको छ। क्यालिफोर्नियामा मात्र अहिलेसम्म १० लाख ४० हजार संक्रमित फेला परेका छन् र यहाँ २० हजार बढीको ज्यान गएको छ। 

पछिल्लो दुई सातायता आइसीयूमा भर्ना हुने बिरामीको संख्या ७० प्रतिशतले बढेको छ। अब यहाँको अस्पतालमा १० प्रतिशत मात्र बेड खाली भएको स्थानीय समाचार एजेन्सीले बताएका छन्। 

अमेरिकामा हालसम्म १ करोड ६७ लाख मानिस संक्रमित भइसकेका छन्।

प्रकाशित मिति: : 2020-12-14 13:05:00

प्रतिकृया दिनुहोस्