विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा उनलाई घराैटी नमागी पुर्पक्षकाे लागि डिल्लीबजार कारागार पाइएकाे हाे।
आइतबार अदालतमा उपस्थित भएका बस्न्यातसँगको बयान र त्यसपछिको थुनछेक बहसपछि थुनामा राख्न आदेश दिइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।
उनकाे मुद्धा विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले हेरेकाे थियाे।
बस्न्यातलाई तत्कालीन समयमा भौतिक मन्त्रालयका सचिवको हैसियतले अख्तियारले अभियुक्त बनाएको थियो।
गत वर्ष २२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा १७५ जनाउपर विशेष अदालतमा आरोपपत्र दायर गर्यो।
बस्न्यातविरुद्ध अख्तियारले जनही ९ करोड ६५ लाख ७६ हजार बराबरको बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
यसअघि यही प्रकरणमा केही दिनअघि अभियोग लागेका तत्कालीन मन्त्री चन्द्रदेव जोशीलाई भने अदालतले साधारण तारेखमा छोडेको थियो।
अख्तियारले पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार रुपैयाँ विगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
यता मुद्दा चलाइएका तत्कालीन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार भने अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन्।