मेलम्ची खानेपानी आयोजनाको म्याद ६ महिना थप गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

 मेलम्ची खानेपानी आयोजनाको म्याद ६ महिना थप गरिने भएको छ। 

‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएपछि म्याद थप गरिन लागिएको हो।  

सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो। तर लकडाउनको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ। 

 अब बाँकी काम आगामी पुसमा सकिने नदेखिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। 

तर, चैतसम्ममा आयोजनाले काम सम्पन्न गर्छ भन्ने आफूहरुलाई लागेको पनि उनको भनाइ छ।

‘निर्माण कम्पनीले आगामी चैतबाट पानी पथान्तरण नै गर्न सकिने बताएको छ। गत असारमा सुरुङको परीक्षणका क्रममा अस्थायी बाँधबाट पानी सुरुङमा पठाइएको थियो,’ उनले भने। 

 अहिले आयोजनाले पुनः पानी पथान्तरण गर्ने योजना बनाइरहँदा ‘हेडबक्स’ निर्माण सकिएमा त्यसैबाट पथान्तरण गर्न सकिनेछ।

प्रकाशित मिति: : 2020-12-13 12:37:00

प्रतिकृया दिनुहोस्