जाडो भस्मै बढेको छ। बालबालिका र वृद्धहरुलाई सकभर बाहिर ननिस्कन डाक्टरहरुको सुझाव छ।
५० कटेकाहरु मंसिर लाग्नेवित्तिकै मधेस झरिसकेका छन्। तर ७५ वर्षीया रमान्नद आचार्य यी सबै कुराको प्रवाह नगरी २०६४ सालदेखि खस भाषाको शब्दकोश निर्माण गर्न कस्सिएका छन्।
खस भाषाको शब्दकोश निर्माण कार्यमा खटिने टिमको सबैभन्दा वृद्ध सदस्य उनै हुन भने सबैभन्दा बढी लागिपरेका पनि उनी नै छन्।
आफूले थालेको काम सकेरै मर्न पाएको भए सोचेका उनले काम सकाए पनि, तर छाप्नालाई पैसा जुटेको छैन।
कर्णाली प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमा शब्दकोश प्रकाशनको लागि बजेट पनि छुट्याइएको छ।
तर त्यो बजेट कसरी आउँछ र प्रकाशनको लागि सहज हुन्छ भन्ने कुराको मेसो धेरैले पाएका छैनन्।
धेरै पटक बसाइमा उनले बारम्बार सुनाउने गरेको अनुभुतिलाई यहाँ जस्ताको तस्तै उल्लेख गर्नु निको हुनेछ।
‘एउटा होटेलमा खाना खान बस्यौं। खाना अर्डर पनि भयो। तर खाना दिन कोही आएन। हामी भन्दा पछाडि आएकाले पनि खाए। अगाडिकाले नखाने त कुरै भएन। तर हामीले पाएनौं।
कतिले पाकाउने ठाउँमा आफै गएर खाए, कतिले चिनेको आधारमा खान पाए। तर हामीले खान पाएनौं। अर्डर गरिसकेकाले हामी आइहाल्छ भनी ढुक्क भयौं। सिष्टम बिग्रिएको ठाउँमा त्यस्तो हुँदो रहेछ।’
उनले सुनाएको अनुभुति र उनले काम सकाएर पूरा गरेको शब्दकोश प्रकाशनबारेको बजेट उस्तै छ।
उनलाई देशमा बसेको सिष्टमबारे थाहा नभएको पनि हुन सक्छ। जसले शब्दकोश प्रकाशनमा ढिलाइ भइरहेको छ।
तथापि उनी आशावादी हुँदै भन्छन्, ‘अहिले आर्थिक स्रोत जुटेको छ। शब्दकोश प्रकाशनको तयारी तिव्र भइरहेको छ। यो खस भाषा संरक्षणका लागि बलियो आधार हुनेछ। शब्दकोश प्रकाशनको लागि कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालयले बजेटको व्यवस्थापन गर्ने भएको छ। हामी काम गरिरहेका छौं।’
पछिल्लो समय बाहिरी क्षेत्रसँगको सम्पर्कका कारण खस भाषाको विकासमा केही समस्याहरु आएको जानकारहरु बताउँछन्। जसले खस भाषालाई संकट पारिरहेको छ।
२०६४ सालदेखि शब्द संकलनको काम सुरु भएपछि हातले लेखिएका शब्दहरु अहिले कम्प्युटर टाइपिङ भइरहेका छन्।
काम नियमित भइरहेको भएपनि बजेट अभावका कारण शब्दकोश प्रकाशन अन्यौलमा थियो।
तत्कालिन जिल्ला विकास समिति, अहिलेका स्थानीय सरकार सबैलाई शब्दकोश प्रकाशनको लागि सहयोग गर्न आग्रह गरिएको भएपनि कसैले चासो नदेखाएपछि समस्या परिरहेको थियो।
चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको बजेटमा खस शब्दकोश प्रकाशनका लागि सहयोग गर्ने उल्लेख भएपछि खर्चको परियोजना प्रस्ताव पठाइसकिएको आचार्यले बताए।
‘लामो समयदेखिको मेहनतको कदर हुँदा खुसी लागेको छ। प्रकाशनको लागि सहज हुने तरिका थाहा पाएपछि प्रस्ताव पठाएका छौं। खस भाषाको संरक्षण गर्ने धोको केही हदसम्म पुरा हुने भयो,’ उनले खुसी हुँदै भने।
शब्दकोश प्रकाशन समितिका सदस्य प्रकाश चन्द्र खत्रीले सामाजिक विकास मन्त्रालयलाई ३२ लाख रुपैयाँ बढीको लागत परियोजना पेस गरेको बताए।
‘तत्कालिन खस साम्राज्यको राजधानी सिंजा र खस भाषाको उत्पत्ति जुम्लाबाटै भई राष्ट्रिय भाषाको रुपमा परिणत भएकाले खस शब्द जोगाई राख्न शब्दकोश महत्वपूर्ण दस्तावेज खस हुनेछ,’ उनले भने, ‘शब्दकोश प्रकाशनका लागि साथ दिने कर्णाली सरकार प्रति निकै आभारी छौं।’
जिल्लामा खस शब्दकोश प्रकाशनका लागि खसिया आखर समितिको बैठकले सामाजिक विकास मन्त्रालयलाई बजेट माग गर्न जिल्ला समन्वय समितिलाई सिफारिस गरिदिनको लागि आग्रह गर्ने निर्णय समेत गरेको थियो।
सम्पादक आचार्यका अनुसार यो समग्र कर्णालीको ऐतिहासिक दस्तावेज हो। जसका लागि २५ हजार बढी खस शब्दकोश संकलन भएका छन्।
‘खस साम्राज्य हुने समयमा चार वटा दरा थिए। पानसय, असी, चौधविस र सिंजा। यी चारवटै दरामा आ(आफ्नै अनुकलताको भाषा र लवज छ।
हामीले सकेसम्म सबै क्षेत्रका शब्दहरु संकलन गरेका छौं। ‘अ’देखी ‘न’ सम्मका शब्द कम्प्यूटर टाईपिङ समेत भइसकेको छ।’
तत्कालिन समयमा जिल्ला गाविसका समिति हुँदा स्थानीय विकास अधिकारी तिलक पौडेलको पहलमा खस शब्दकोश निर्माणका लागि शब्द संकलनको कार्य प्रारम्भ भएको थियो।
शब्द संकलनमा जुम्लाका सबै क्षेत्रमा मानिसहरुको सहभागिता छ। आचार्यको नेतृत्वमा खस संस्कृतिका जानकार तुंगनाथ उपाध्याय, दयादत्त हमाल, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाई रहेका छन्।
हिउँद, बर्ख र घरायसी काम नभनेर शब्द संकलनमा अहोरात्र खटेका आचार्यले अब काम सकिएपछि चैनले निदाउन सक्ने बताए।
‘तथापि यो सुरुवात मात्र हो। शब्दको अथाह भण्डार भएको कर्णालीको लागि २५,३० हजार शब्द निकै कम हो। त्यसैले शब्दकोश अहिले दुब्लो छ। यसलाई मोटाउने बनाउन नयाँ पुस्ताको अहम भूमिका रहनेछ,’ उनले सन्तोसको सास फेर्दै भने।